उपत्यकामा बर्डफ्लु, २ हजार ५ सय ४४ पन्छी नष्ट

नेपालमा फेरि बर्डफ्लु रोग देखापरेको छ । उपत्यकामा किसानले पालेका हाँस र टर्कीमा संक्रमण भेटिएको हो । पशु सेवा विभागका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्लेखोला, फुटुङमा नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो ।
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गरिएको विभागले जनाएको छ ।
‘शुक्रबार बेलुका पहिचान भयो, शनिबार त्यो क्षेत्र नियन्त्रणमा लिएका छौं,’ विभागका सूचना अधिकारी चन्द्र ढकालले भने । पुष्टि भएको क्षेत्रबाट अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रणमा लिन उक्त ठाउँका सबै घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको उनले बताए । उक्त क्षेत्रमा १ हजार ८ सय ६५ हाँस, ६ सय २२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५ सय ४२ अन्डा र ७५ केजी दाना नष्ट गरिएको ढकालले जानकारी दिए । संक्रमण अन्यत्र फैलिन नदिन तथा नियन्त्रण गर्न संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरेको विभागले जनाएको छ ।
सबै निकायलाई सतर्क अवस्थामा राखेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले बताए । ‘भारतबाट रोग सार्न सक्ने वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाइएको छ,’ उनले भने । नेपालमा पर्ने जोखिम न्यूनीकरण गर्न विभागअन्तर्गतका सबै निकाय रोग नियन्त्रण शाखा, ल्याब, क्वारेन्टाइन, बजेट शाखा, अनुगमन शाखालाई सतर्क रहन निर्देशन दिइएको उनले बताए । विभागअन्तर्गत ८ वटा क्वारेन्टाइन कार्यालय र २४ वटा क्वारेन्टाइन चेकपोस्ट छन् । ती सबैलाई सतर्क रहन निर्देशन दिइएको छ ।
बर्डफ्लु मुख्यतः चिसोमा बढी फैलिन्छ । चराहरूले बसाइँसराइका क्रममा बर्डफ्लु सार्ने गरेको व्यवसायीहरू बताउँछन् । ‘बर्डफ्लु पन्छी जातमा देखिन्छ । मुख्यतः चराबाट सर्छ । चिसोबाट बच्न चराहरू साइबेरियाबाट भारतमा आए, भारतबाट नेपालमा आउँछन्,’ दाना उद्योग संघका अध्यक्षका रविन पुरीले भने, ‘बर्डफ्लु देखिएको ठाउँमा सिल गरेर संक्रमित पन्छी गाड्नुपर्‍यो, अन्य ठाउँमा सतर्क हुन जरुरी छ ।’
विभागका अनुसार दुई वर्षअघि विराटनगर र रसुवामा करिब २२ हजार कुखुरा नष्ट गरिएको थियो । अहिले पनि उच्च जोखिम देखिएको हो । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीले सबै सचेत हुनैपर्ने बताए । ‘त्यति आत्तिनुपर्ने अवस्था भइसकेको छैन, सबै क्षेत्र सचेत हुनुपर्छ,’ उनले भने, ‘भयावह नहोस् भनेर अन्तर्राष्ट्रिय मापदण्ड अपनाएर संक्रमणको जोखिम देखिएका पन्छी नष्ट गरिएको छ । पुष्टि भएको ठाउँमा सबै नष्ट गरिने भएकाले फैलिने सम्भावना कम हुन्छ ।’
अध्यक्ष बीसीका अनुसार बर्डफ्लु निमोनियाररुघाखोकी जस्तै भएकाले चिसोमा बढी असर गर्छ । यसका लागि सरसफाइमा विशेष ध्यान दिनुपर्ने उनले बताए । भारतमा मुख्यतः मध्यप्रदेश, महाराष्ट्र, राजस्थान र हिमाचल प्रदेशमा बर्डफ्लु देखिएको छ । छिमेकी मुलुकका विभिन्न प्रदेशमा कुखुरा र चरा मर्न थालेपछि नेपालमा पनि जोखिम उच्च भएको हो । भारतसँग धेरै ठाउँ सीमा खुला छ । पन्छी र पन्छीजन्य वस्तु भारतबाट तस्करी गर्दै नेपाल भित्र्याइने गरेको छ ।
बर्डफ्लुको जोखिम रोक्न व्यवसायीकै पहलमा तस्करी गर्ने गिरोहहरू विभिन्न समयमा पक्राउसमेत परेका छन् । उनीहरूले मंसिर र पुस महिनामा मात्रै करिब १० गाडी कुखुरा समातेर नष्ट गरेका थिए । कुखुरासँगै चल्ला पनि तस्करी हुन्छ । जसले गर्दा नेपालमा सीमावर्ती क्षेत्र हुँदै जोखिम उच्च भएको हो ।
जानकारहरूका अनुसार व्यवसायीकै मिलेमतोमा भारतबाट लुकीछिपी भित्र्याइन्छ । पोल्ट्री सप्लायर्सले भेटेरिनरी चिकित्सकलाई पनि मिलाएका हुन्छन् । पशुपन्छी जाँचकीहरू भन्सारमा बस्दैनन् । त्यसको फाइदा उठाउँदै तस्करले भित्र्याउने गरेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले बर्डफ्लु अन्य संक्रामक रोग जस्तै भाइरसको माध्यमबाट सर्छ । ‘रुघाखोकी जस्तै हो । रोग लागेर मरेको कुखुरा खाँदा मान्छेको स्वास्थ्यलाई असर गर्छ नै,’ उनले भने, ‘यद्यपि सरसफाइमा विशेष ध्यान दिई राम्रोसँग पकाएर खाँदा भाइरस सर्ने सम्भावना कम हुन्छ । खाने मासु काँचो हुनुभएन । पकाएको मासुसँगै काँचो राख्न पनि भएन ।’
बर्डफ्लु नेपालमा प्रवेश गरिसकेकाले विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्नरगराउन आग्रह गरेको छ । यस्तै, फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्नरगराउन, नियमित रूपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको सूचना अधिकारी ढकालले बताए ।
कान्तिपूरबाट साभार

You can share this post!

संविधान विपरित अदालतको फैसला आए, जनता बाध्य भएर सडकमा आउँछन्ःकांग्रेस नेता खाँड

१३ जना म्याग्देलीमा कुष्ठरोग, जनसंख्याका आधारमा गण्डकी प्रदेश भित्र म्याग्दीमा धेरै रोगी

Related posts