काठमाडौँ । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आजदेखि उच्चस्तरीय भेटवार्ता सुरु गर्दै गर्दैछन् ।
उनले आज दिउँसो प्रधानमन्त्री देउवासँग बालुवाटारमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यस्तै भोलि परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग भेट गर्ने कार्यक्रम छ । नेपाल बसाइका क्रममा अमेरिकी सहायक विदेशमन्त्री लुले नेपालमा अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन गर्नेछन् ।
उनको नेपाल भ्रमणका क्रममा अमेरिका–नेपाल सम्बन्ध, एमसीसी सम्झौतालगायतका विषयमा छलफल हुनेछ । सन् २०१७ मा हस्ताक्षर भएको यो सम्झौता नेपालको संसदबाट अनुमोदन नहुँदा अमेरिकाले असन्तुष्टि जनाउँदै आएको छ।उनी तीन दिने भ्रमणका क्रममा हिजो बेलुका काठमाडौँ आइपुगेका हुन्।
आजै दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङ पनि काठमाडौँ आइपुग्ने कार्यक्रम छ । उनले नेपाली अधिकारी र नागरिक समाजका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ।
अमेरिकी सहायक र उपसहायक विदेशमन्त्रीको नेपाल भ्रमण दुई देशबीच कुटनीतिक सम्बन्धको ७५ औँ वर्ष प्रवेशका अवसरमा भएको हो ।