हराएको ५२ बर्षपछि घरमा आईपुगे थामडाँडाका गंगाबहादुर गुरुङ

म्याग्दी । घरबाट हराएको ५२ बर्षपछि म्याग्दीका एक पुरुषको पारिवारीक पुनर्मिलन भएको छ । वि.स. २०२३ सालमा घरपरिवारको सम्पर्कबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५ बर्षिय गंगाबहादुर गुरुङ (जंगबहादुर भनिने) को मंगलवार मात्रै आफन्तसंग पुनर्मिलन भएको हो ।

वि.स. २००३ सालमा जन्मिएका गुरुङ तत्कालिन समयमा घरबाट हराएर सडक खन्ने काम गर्दागर्दै हराएको करिब चार बर्षपछि कैलालीको चुरे गाउँपालिका–३ मस्य गाउँमा पुग्नुभएको थियो । स्थानीय युवाले सामाजिक सञ्जालमा गुरुङको तस्बिर सहित बागलुङ, बेनी, तातोपानीको नाम लिने उहाँलाई आफ्नो पुख्यौली थलो फर्कन चाहेको सन्देश राखेपछि नेपाल रेडक्रस सोसाईटी म्याग्दीले गुरुङको खोजी सुरु गरेको थियो ।

रेडक्रस अन्तर्गत रहेको खोज तथा उद्धार सेवा केन्द्रले गुरुङको अवस्था र जिल्लामा सम्भावित आफन्तबारे खोजी गरेको थियो । खोजीका क्रममा थामडाँडाबाट बर्षौदेखि आफन्त हराएका परिवार सम्पर्कमा आएपछि गुरुङ र उहाँका आफन्तबिच टेलिफोनमा सम्वाद गराइएको थियो । आफन्तले झण्डै ६० वटा बढी प्रश्न मार्फत आफन्तको नाम, तत्कालिन गाउँको अवस्था आदिबारे सोधेका प्रश्नमा उहाँले दिनुभएको जवाफले उहाँको एकिन गरेका थिए ।

कैलालीमा स्थानीय प्रतिष्ठीत एक व्यक्तिको सहारामा एक्लै बसोबास गर्दै आउनुभएका गुरुङ थामडाँडाका बलबिर गुरुङका माईला छोरा रहेको पुष्टि भएपछि रेडक्रस म्याग्दीको समन्वयमा उहाँका भाइका परिवारसंग मंगलवार पुनर्मिलन भएको छ । गुरुङका भाईका छोरा शेरबहादुर र छोरी विष्सु गुरुङले रेडक्रस म्याग्दीको समन्वयमा कैलालीमै पुगेर आफ्ना माईलो बुवालाई उद्धार गरि ल्याएका छन् ।

रेडक्रस म्याग्दीको कार्यालयमा औपचारिक रुपमा गुरुङको पारिवारिक पुनर्मिलन गराईएको थियो । रेडक्रस म्याग्दीका सभापति लेखबहादुर हमाल र अधिकृत धनन्जयकुमार श्रेष्ठ, सहित रेडक्रसकर्मीहरुको उपस्थितिमा गुरुङको पारिवारिक पुर्नमिलन गराइएको हो ।

‘ ‘पचास बर्ष भन्दा बढी समयदेखि परिवारबाट हराएका व्यक्तिलाई आफन्तको जिम्मा लगाइएको छ, घरबाट हराएर दुरदराजमा पुगेपनि बुढेसकालमा गुरुङले आफ्नो जन्मघर र आफन्तलाई पाउनु अति उपलब्धीमुलक कुरा हो’’– रेडक्रस म्याग्दीका सभापति हमालले भन्नुभयोे । उहाँका अनुसार, बेनीदेखि कैलाली सम्म पुगेर गुरुङको उद्धारका लागि आबश्यक यातयातको सबै खर्च रेडक्रस म्याग्दीले व्यहोरेको छ ।

साउन अन्तिम साता पुर्णनन्द पाण्डेले सामाजिक सञ्जालमा राखेको सन्देशका आधारमा खोजी गर्दै जाँदा असोज तेस्रो साता मात्रै पारिवारिक पुनर्मिलन भएको रेडक्रसले जनाएको छ । विभिन्न कारणले हराएका व्यक्तिहरुको खोजी गर्ने काम रेडक्रसले गर्दै आएपनि विरलै हुने पारिवारिक पुनर्मिलन गुरुङको परिवारमा सम्भव भएको रेडक्रस म्याग्दीका शाखा अधिकृत श्रेष्ठले बताउनुभयो । ‘‘ बर्षौदेखि हराएका व्यक्तिको पुनर्मिलन विरलै हुन्छ, रेडक्रसले समयमै सोधखोज गरेको परिणामले गुरुङले जिवनको अन्तिम क्षणमा भएपनि आफन्त र जन्मथलो पाउनुभएको छ’’–उहाँले भन्नुभयो ।

टेलिफोनको वार्तालापबाट आफ्नो माईलो बुबा नै भएको पुष्टि गरी कैलाली पुगेका शेरबहादुरले अनुहार समेत आफ्नो बुबाहरुसंग मिल्ने र जन्मथलोको सबै विवरण एकिन गरेर बताएपछि आफन्तसंग सरसल्लाह गरि उहाँलाई घरमा ल्याएको बताउनुभयो । ‘‘ उहाँ हराएको बारेमा घरपरिवारमा कुराकानी हुन्थ्यो, तर यसरी भेटिनुहोला भनेर सोचेका पनि थियनौँ, सामाजिक सञ्जाल र रेडक्रसको सहयोगले ५२ बर्षदेखि हराउनुभएका माईलो बुबालाई हामीले पाउन सफल भयौँ, सहयोग गर्ने सबैलाई आभार प्रकट गर्दछाँै’’–शेरवहादुरले भन्नुभयो ।

घरबाट हराएपछि भौतारिएका गुरुङ तत्कालिन समयमा अतरियादेखि डढेलधुराको महेन्द्रराजमार्गमा काम गर्दागर्दे ठेकेदारले पारिश्रमिक नदिएपछि पैदल हिँडेर कैलालिको मस्य गाउँमा पुग्नुभएको गुरुङले बताउनुभयो । त्यहाँ पुगेपछि स्थानीयसंग घुलमिल हुँदै स्थानीय एक जमिनदारको घरमा आश्रय लिएर जिविकोपार्जन गर्दै आउनुभएका उहाँले माछा मार्ने पेशा अंगाल्नुभएको थियो । उहाँलाई लिनका लागि आफन्त पुगेपछि गाउँलेहरुले भव्य सम्मान सहित विदाई गरेका थिए ।

You can share this post!

क्यान महासंघको ७२औं शाखा मुस्ताङमा स्थापना

रुप्से दैनिकले मनायो १८ औँ बार्षिक उत्सव

Related posts