बेनीमा निशुल्क मुटुरोग शिविर सुरु

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा दुई दिने निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविर सुरु भएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा काठमाण्डौमा रहेको सेभ द हार्टको आयोजना, म्याग्दीको ओमकुमारी शान्ति कोष र म्याग्दी प्रवासी नेपाली संघ मोना कतार, इशा फाउण्डेशनको सह–आयोजनामा आयोजना गरिएको शिविरको शुक्रबार बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमका बोल्दै ढकालले मुटु शरिरको संवेदनशिल अंग भएकाले यसको सुरक्षा आवश्यक हुने बताउनुभयो । उहाँले सरकारले जटिल रोगका विरामीहरुको उपचार निशुल्क गर्ने व्यवस्था गरेपनि रोगै लाग्न नदिन पूर्व सचेतनाका कार्यक्रमहरु संचालन नभएको बताउनुभयो । रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु उत्तम हुने भएकाले समय समयमा आफ्नो स्वास्थ्य अवस्थाको परिक्षण गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भट्टराईले सेभ द हार्टले देशव्यापी रुपमा शिविर संचालन गर्दै आएको बताउनुभयो । म्याग्दी सहित २३ वटा जिल्लामा विभिन्न समयमा आयोजना गरिएका ९५ वटा शिविर हाल सम्म करिव ९६ हजार मुटुरोगीको परिक्षण गरिएको डा. भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार शिविरमा हाल सम्म करिव १३ सय विरामीको ओपन हार्ट सर्जरी गरिएको छ भने बाँकी विरामीहरु निरन्तर सम्पर्कमा रहेर मुटु जाँच गराईरहेका छन । शनिबार सम्म संचालन हुने शिविरमा मुटुको भिडियो एक्सरे, ईसिजी गर्ने, निशुल्क औसधि वितरण तथा आवश्यक परामर्श दिईने छ । अप्रेसन गर्नुपर्नेलाई काठमाडौँ बोलाएर विरामीको अवस्था हेरी निशुल्क रुपमा अप्रेसन समेत गरिने डा. भट्टराईले बताउनुभयो ।

शिविरमा मुटुरोग सम्वन्धि अनुभवि डाक्टरहरुको टिम खटिएकाले विरामीहरुका लागि शिविर लाभदायक हुने शिविरका संयोजक नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष समेत रहनुभएका पत्रकार हरिकृष्ण गौतमले बताउनुभयो । हालैमात्र आफ्नो सानो छोराको मुटु सम्वन्धी रोगको डा. भट्टराईकै टिमले सफल उपचार गरेकोमा धन्यबाद प्रकट गर्दै गौतमले जिल्लामा रहेका थुप्रै मुटुरोगीहरुको सहजताका लागि सेभ द हार्टको टिमलाई अनुरोध गरेर बेनीमा शिविरको आयोजना गरिएको बताउनुभयो ।

साथै उहाँले शिविरको सहआयोजक ओमकुमारी शान्ति कोषको बारेमा समेत जानकारी गराउनुभएको थियो । २०७१ सालमा स्थापना भएको कोषले हाल सम्म २४९ जना बिरामीहरुको उपचारमा सघाएको छ । १ करोड ३ लाखको अक्षयकोष रहेको कोषले आफ्नो व्याज र अभियानबाट हाल सम्म २ करोड, ५३ लाख, १९ हजार, १२९ रुपैयाँ बिरामीको उपचार तथा विपतको समयमा सहयोग गरेको गौतमले बताउनुभयो ।

सेभ द हार्टका महासचिव शेरबहादुर रानाले शिविरमा आउने बिरामीको मुटु सम्वन्धी जटिल समस्या देखिएका काठमाडौँ लगेर उपचार गराइने बताउनुभएको छ । अति विपन्न परिवारका विरामीलाई संस्थाको तर्फबाट आवश्यक आर्थिक सहयोग सहित उपचारको व्यवस्थापन गर्ने रानाको भनाई छ ।

बेनी अस्पतालमा सुरु भएको शिविरमा मुटु परिक्षणका लागि म्याग्दी लगायत छिमेकी जिल्लाहरुबाट पनि सयौँको संख्यामा विरामी आएका छन । अस्पताल भित्र ५ वटा ओपिडी कक्ष तयार गरि विरामी परिक्षण गर्ने व्यवस्था मिलाईएको छ । शुक्रबार बिहानैदेखि विरामीहरु लाईनमा बसेका छन । शिविरमा डा.भट्टराईको नेतृत्वमा करिव ४० जनाको टोली उपचारमा संलग्न भएका छन ।

शिविरको उद्घाटन कार्यक्रम ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्यको अध्यक्षता र र सचिव लोकेश पुन मगरको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

मालिकामा काँग्रेसका उम्मेदवारहरुको घरदैलो अभियान तिब्र

बेनी नगरपालिकामा काँग्रेस र माओवादीको चुनाबी गठवन्धन

Related posts