एक हप्तामा खुल्यो अबरुद्ध रहेको बेनी – पोखरा सडक

गत भदौ १७ गते राती भएको अविरल वर्षाका कारण ठाउँ-ठाउँमा झरेका पहिरोका कारण एक सातादेखि अवरुद्ध रहेको मध्यपहाडी लोकमार्गको अन्तर्गत पोखरा-बेनी सडक सडक खण्ड बिहीबार साँझदेखि सञ्चालनमा आएको छ । भीषण वर्षापछि पर्वतको कुश्मा नगरपालिका-८ चुवादेखि मोदी गाउँपालिका-५ को साढे आठ किलोमिटर लम्बाइमा २० वटा पहिरो झरेपछि सडक अवरुद्ध भएको थियो । साविकको धौलागिरिका चार जिल्लाहरु मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडक नै अबरुद्ध हुँदा चार जिल्ला समस्यामा परेका थिए ।

 

मौसममा सुधार आएपछि भदौ १९ गतेबाट मध्यपहाडीको पर्वत खण्डको काम गरिरहेको लामा कन्स्ट्रक्सन, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको प्रयासबाट बिहीबार साँझदेखि बाटो सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताउनु भयो । एक साता लामो प्रयासपछि एकतर्फी रूपमा मात्रै बाटो खुलाउन सकिएको भए पनि सवारीको ओहरदोहरका लागि भने अझै केहि समय लाग्ने भएको छ ।

‘एक हप्ता लामो मेहनतपछि क्षत बिक्षत बनेको बाटोलाई एकतर्फी रूपमा खुलाइएको छ । बाटो सुचारु भएपछि मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतबाट बाहिरिने तथा यी चार जिल्लामा भित्रिने सवारीहरू गन्तव्यतर्फ लागेका छन् ।’ बाटो बन्द हुँदा साबिकको धौलागिरिका चारै जिल्लाका सवारीहरू छुटेका थिएनन् भने भित्रिन आएका सवारीहरू जिल्लाको मोदी गाउँपालिका-५ पातिचौरमा रोकिएका थिए ।
बाटो सञ्चालनमा ल्याउनको लागि लामा कन्स्ट्रक्सनले पहिरोका विभिन्न ठाउँबाट सात वटा एक्स्काभेटर प्रयोग गरेको थियो। तर पहिरोसँगै आएका विशाल ढुङ्गालाई पन्छाउन नसक्दा नेपाली सेनाले लगातार तीन दिनसम्म विस्फोटक पदार्थको प्रयोग गरेर ढुङ्गा फुटाएपछि बाटो सञ्चालनमा आएको हो ।

तीन दिनसम्म सेनाले विस्फोट गराएपछि मात्रै एक्स्काभेटरले बाटो सफा गर्न सकिने अवस्था बन्यो’ नेपाली सेनाको केबलजंग गुल्म पर्वतका गुल्म पति सेनानी शमशेर बहादुर सिंहले भन्नुभयो, ‘ढुङ्गा फुटाउनको लागि पर्वतमा विस्फोटक पदार्थ नभएकोले म्याग्दीबाट ल्याएर विस्फोट गराइएको हो । यो बिचमा पैदल यात्रा गर्दै आएका धेरै नागरिकलाई सुरक्षाकर्मीहरूको सहयोगमा गन्तव्यमा पठाइएको छ ।’

मध्यपहाडीको पर्वत खण्ड साबिकको धौलागिरिको एक मात्र कालोपत्रे, सहज र छोटो सडक हो । यो सडक अवरुद्ध हुँदा मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा दैनिक उपभोग्य सामग्री, तरकारी तथा फलफूल र पेट्रोलियम पदार्थको अभाव हुन थालेको थियो ।

You can share this post!

धवलागिरी गाउँपालिकाको मुदीमा स्थानीयले गरे एमसीसी बिरुद्ध विरोध प्रर्दशन्

माधव नेपालको राजनितीक भविष्य अन्धकारः नेता गुरुङ

Related posts