शारदा मावि छिस्वाङ बन्यो २० औँ जेसिजकपको च्याम्पियन

म्याग्दी । म्याग्दी जेसिजद्वारा आयोजित २० औँ अन्तरमावि स्तरीय जेसिज कप फटबल प्रतियोगितामा उपाधि शारदा माविले जितेको छ ।
शनिवार सम्पन्न भएको फाइनल खेलमा प्रकाश मावि बेनीलाई १ का विरुद्द २ गोल गर्दै मंगला गाउँपालिका ५ छिस्वाङको शारदा मावि च्याम्पियन बनेको हो ।

खेलको पहिलो हापको २९ औँ मिनेटमा प्रकाश माविका रिजन पुनले गोल गरि अग्रता दिलाउनुभएको थियो । ६५ औँ मिनेटमा शारदाका रुपक बुढाथोकीले गोल गरि खेल बराबरीमा ल्याउनुभएको थियो ।

दोस्रो हापमा थप गरिएको ५ मिनेट अतिरिक्त समय सकिन करिव १ मिनेट मात्रै बाँकी रहदाँ खेलको ८४ औँ मिनेटमा शारदाका निर्मल रोकाले गोल गर्नुभएको थियो । उहाँको गोलनै शारदालाई उपाधी चुमाउने निर्णायक गोल बन्यो ।

खेलको ६२ औँ मिनेटमा शारदाका शुसिल फगामी घाईते भई मैदान बाहिरिएका थिए । प्रकाश माविको गोलपोष्ट नजिकै हेडिङ गर्ने क्रममा खेलाडी संग जुधेर मैदानमा लडेका फगामीको ढाडमा समस्या देखिएपछि उहाँलाई तत्काल बेनी अस्पताल लगिएको थियो ।

फगामी मैदान बाहिरिएपछि शारदाले अर्का खेलाडी विपन क्षेत्रीलाई मैदान प्रवेश गराएको थियो । फगामी बाहिरिएको करिव ३ मिनेट भित्रै शारदाका रुपकले लामो किकमा आकर्षक गोल गरेर खेल बराबरीमा ल्याउनुभएको थियो ।

शारदा मावि जेसिजकपको ट्रफि उचाल्ने सदरमुकाम बाहिरको पहिलो विद्यालय बन्यो । यस अघि ५ पटक सम्म जेसिजकप जितेको प्रकाश माविले उपविजेतामा चित्त बुझायो ।

यसै बर्षदेखि कक्षा १० सम्मको अध्यापन सुरु गरेको शारदाले १९ औँ सस्करणको जेसिजकपमा पहिलोपटक सहभागिता जनाएको थियो । पहिलो बर्ष पहिलो चरणबाटै बाहिरिएको शारदाले सहभागिता जनाएको दोस्रो बर्षमा नै जेसिजकपको च्याम्पिएन बन्न सफल भएको हो ।

खेलमैदान विना सामान्य खेतका गह्राहरुमा अभ्यास गरेका खेलाडीहरुले जिल्ला स्तरमा यो उपाधि जित्दा हर्षित भएको शारदा माविका खेल शिक्षक प्रशुराम फगामीले बताउनुभयो ।

विजेता शारदा माविले जेसिजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २५२ र उपविजेता प्रकाश माविले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ३२ हजार २३२ रुपैयाँ पुरस्कार प्राप्त गरेका म्याग्दी जेसिजका शाखा सम्पादक तथा प्रवक्ता दिनेश कुमार विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीको अवार्ड शारदा माविका सिमन सिउथानी र उत्कृष्ट गोल रक्षकको अवार्ड शारदा माविकै देवेन्द्र पूर्जाले प्राप्त गरेका छन । प्रकाश माविका रिजन पुन सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट मिडफिल्डर, सन्देश तामाङ उत्कृष्ट स्ट्राईकर र समुन पुनले उत्कृष्ट डिफेन्डरको अर्वाड हात पारेका छन ।

केवि एकेडेमी दरवाङका दिक्षित पुनले राईजिङ प्लेयरको अवार्ड जित्दै गर्दा अनुशासित टिमको अवार्ड पनि एकेडेमीले नै हात परेको छ । बालमन्दिर आधारभूत विद्यालयका कोच विर्सना चोखालले उत्कृष्ट कोचको अवार्ड जित्नुभएको छ ।

विभिन्न विद्यामा उत्कृष्ट हुने खेलाडीहरुलाई जनही नगद रु २ हजार ५०० पुरस्कार सहित पुरस्कृत गरिएको छ भने अनुशासित टिम केवि एकेडेमीले नगद रु ७ हजार ७ सय ७७ पुरस्कार प्राप्त गरेको प्रतियोगिताका संयोजक दिनेश बानियाँले जानकारी दिनुभयो । सेमिफाइनलबाट बाहिरिएका बेनी सामुदायिक र चन्द्रकुन्ता किसानी मावि धारपानीले ५÷५ हजार पुरस्कार प्राप्त गरेका छन ।

प्रतियोगिताको समापन समारोहमा सन २००९ को जेसिजकपका उत्कृष्ट खेलाडी प्रकाश माविका सन्तोष छन्त्याल, सर्वाधिक गोलकर्ता माउन्ट एभरेष्टका विकास थापा र उत्कृष्ट गोलरक्षक न्यु वेष्ट पोइन्ट माविका लोकेन्द्र पुन लाई सम्मान गरिएको शाखा अध्यक्ष सन्दिप खत्रीले बताउनुभयो ।

बुधबारदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका १८ वटा माविहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको टाइटल स्पोन्सर गौमति खत्री विकास कोष र प्रायोजिकमा लालिगुरास अफसेट प्रेस र मिन बहादुर विश्वकर्मा कोष रहेको थियो ।

विद्यालय तहका विद्यार्थीहरु माझ निकै नै लोकप्रीय खेलको रुपमा जेसिजकपलाई लिने गरिन्छ । जिल्ला फुटबल खेलाडी उत्पादन र अफिसियल उत्पादनमा समेत जेसिजकपले भूमिका निभाएको छ । २० औँ सस्करण सम्म आईपुग्दा हाल सम्म प्रकाश माविले ५ पटक, न्यू वेष्ट पोइन्ट माविले ५ पटक, माउन्ट एभरेष्ट आवासीय माविले ४ पटक र बेनी बोर्डिङले ४ पटक जेसिजकप जितेका छन ।

You can share this post!

पुष २८ देखि बेनीमा सातौँ म्याग्दी महोत्सव आयोजना हुने

जलविद्युत र पर्यटनको क्षेत्रमा म्याग्दीबासीसंग सहकार्य गछौँः वरिष्ठ उपाध्यक्ष ढकाल

Related posts