एमाले म्याग्दीले मनायो ४३औं पुष्पलाल स्मृति दिवस (फोटोफिचर)

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको बिहीबार म्याग्दीमा एक कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाइएको छ । नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको आयोजनामा औपचारिक कार्यक्रममार्फत पुष्पलालको सम्झना गरिएको हो ।
४३औं पुष्पलाल स्मृति दिवसको कार्यक्रममा नेकपाका संस्थापक नेता समेत रहेका महासचिव श्रेष्ठले नेपालमा कम्युनिष्ट पार्टी स्थापना गरी नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको विषयमा चर्चा गरिएको थियो । तत्कालीन समयमा देशमा निरङ्कुश राणाशासन चलिरहेको अवस्थामा श्रेष्ठले राणाहरुको शासनबाट पीडित जनताहरुको पक्षमा विभिन्न आन्दोलनको नेतृत्व गरेका थिए ।


एमाले म्याग्दीले शहिद स्मृति भवन पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्ने नेताहरुले देश अहिले पुष्पलाले देखाएको बाटोमा अगाडि बढिरहेको बताए । उनीहरुले नेपालमा राणाशासन र पञ्चायतको विरुद्धमा नेकपाका महासचिव श्रेष्ठले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनको सम्झना गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य नवराज शर्माले एमाले सत्ताबाट बाहिरिए पनि अब जनताको माझमा पुगेर यसअघि सरकारले गरेका कामहरुको बारेमा बुझाउनुपर्ने बताएका छन् । उनले एमाले अबको केही समय प्रतिपक्ष बनेकाले जनताको पक्षमा चालेका कदमबाट देउवा नेतृत्व सरकार कहाँ कहाँबाट पछि हट्छ त्यसमा एमालेले खबरदारी गर्नुपर्नेमा जोड दिए
सोही कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका निवर्तमान सामाजिक विकास मन्त्री एवं प्रदेश सभा सदस्य नरदेवी पुनले आफू मन्त्री हुँदा शिक्षा र स्वास्थ्यको क्षेत्रमा धेरै सुधारका कामहरु गरेको बताइन् । उनले वर्तमान कांग्रेस नेतृत्वको प्रदेश सरकारले एकैदिन बजेट माग गर्ने, सोही दिनमा मन्त्रालयले निर्णय गर्ने र सम्झौता गरेकाले आर्थिक नियम मिचेर गलत कामको सुरुवात गरेको बताइन् । उनले कांग्रेस नेतृत्वको प्रदेश सरकारले १६ करोड रुपैयाँ बजेट आर्थिक नियमविना नै बाँडफाँड गरेको भन्दै यसअघि म्याग्दीको विभिन्न स्थानमा परेको बजेटलाई अहिलेको सरकारले कटौती गरेको आरोप लगाएकी छन् ।


कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटी सदस्य खुमबहादुर बानियाँले मन्तव्य राखेका थिए । कार्यक्रम नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता, सचिवालय सदस्यद्वय प्रमोद श्रेष्ठको स्वागत र दिपक कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा एमाले पार्टीसहित जनवर्गीय सङ्गठनका नेता तथा कार्यकर्ता लगायतले सहभागिता जनाएका थिए ।


नेपालमा कम्युनिष्ट पार्टीमार्फत् नागरिकका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका पुष्पलालको २०३५ साल साउन ७ गते निधन भएको थियो । नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर नागरिकको स्वतन्त्रताका लागि संघर्ष गरेका थिए । पुष्पलालले विसं २००६ वैशाख १० गते नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठसँग मिलेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । विश्व कम्युनिष्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गरेका पुष्पलालको वि.सं. १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्म भएको थियो ।

You can share this post!

प्रदेश स्वास्थ्य मन्त्री अधिकारीद्वारा बेनी अस्पतालको स्थलगत अनुगमन

अनेम संघ सम्मेलन आयोजक समिति संयोजकमा थममाया थापा

Related posts