म्याग्दी जिल्ला भलिबल संघद्वारा राष्ट्रिय भलिबल खेलाडी कमला पुनलाई सम्मान

म्याग्दी । म्याग्दी जिल्ला भलिबल संघले नेपाल पुलिस क्लबकी कप्तान एवम् राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य कमला पुनलाई मंगलबार एक कार्यक्रमका बीच सम्मान गरेको छ । गृहजिल्ला म्याग्दी आउनुभएकी पुनलाई बेनी नगरपालिकाका मेयर सुरत केसी, संघका अध्यक्ष तेजेन्द्र बानियाँले नगद १० हजार सहित सम्मानपत्रले सम्मान गर्नुभएको हो ।

सम्मान कार्यक्रममा बोल्दै बेनी नगरका मेयर केसीले भलिबलले म्याग्दी जिल्लालाई विश्वसामु चिनाएको बताउँदै नयाँ प्रतिभाको पहिचानका लागि समेत नगरपालिकाबाट निरन्तर साथ र सहयोग हुने बताउनुभयो । त्यस्तै सम्मानित खेलाडी पुनले राष्ट्रिय र विभागीय टोलीबाट भलिबलमा उपाधी जित्दा गृहजिल्लालाई सम्झिने गरेको बताउनुभयो ।

राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य पुनको कप्तानीमा हालै माल्दिभ्समा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स क्लबमा भएको ६ खेलमै अपराजित हुदै पुलिस च्याम्पियन भएको थियो भने गत साउन महिनामा भुटानमा भएको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबलमा समेतमा खेलाडी पुनले स्वर्ण पदक दिलाउन सफल हुनुभएको थियो ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३ रुम औलमा जन्मिनुभएकी पुनले दुई वर्षअघि बंगलादेशको कक्स बजारमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबल सहित हालसम्म तीनपटक अन्तराष्ट्रियस्तरको प्रतियोगिता उपाधी जित्न सफल हुनुभएको छ ।

सम्मान कार्यक्रममा संघका अध्यक्ष बानियाँले म्याग्दीकी चेली अरुणा शाही र कमला पुनको प्रशिक्षणमा म्याग्दीका छात्रालाई भलिबल खेल्ने अवसरका लागि स्थानीय तहसँग सहकार्य गरिने बताउनुभयो । सम्मान कार्यक्रममा जिल्ला भलिबल संघका सदस्य मनोज खड्का सहितको उपस्थिती रहेको थियो ।
बिस २०६८ सालमा नेपाल प्रहरीको राष्ट्रिय टोलीमा करार खेलाडीको रुपमा प्रवेश गर्नुभएकी पुन १२ औं सार्क राष्ट्रस्तरीय प्रतियोगितापछि लगातार राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागि हुनुहुन्छ ।

You can share this post!

कुरियर सेवाको भरपर्दो माध्यम बन्दै म्याग्दी हुलाक

किसानी माविमा अक्षयकोष स्थापना

Related posts