शव भेटिएको एक महिनापछि गरियो मिना परियारको अन्त्येष्टि

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९, तोरीपानीकी १९ वर्षीया मीना परियारको बुधबार हिन्दू परम्पराअनुसार कालिगण्डकी नदीमा दाहसंस्कार गरिएको छ । गत बर्षको पुस १६ गते राति वेपत्ता भएकी परियारको हत्याका मुख्य आरोपी सहित पाँचैजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएपछि प्रारम्भीक न्याय पाएको भन्दै अन्त्येष्टि गरिएको हो ।

मृतक मिनाको हत्यामा सामुहिक संलग्नता भएको भन्दै पीडित परिवारले मिनाको शव दाहसंस्कार गर्न मानेको थिएनन् । बेनी अस्पतालको शवगृहमा राखिएको मिनाको शव एक महिनापछि आज दाहसंस्कार गरिएको हो । मीनाको शव गत साउन २७ गते म्याग्दी बेनी नगरपालिका वडा नम्बर ९ आँखेत कालीमुलको जंगलमा गाडिएको अवस्थामा फेला परेका थियो ।

मृतक परियारको हत्यामा संलग्न बेनी नगरपालिका ९ का राम खत्री, मुख्य अभियुक्तकी आमा ४५ वर्षीया रेणु खत्री, दाई विक्की खत्री, भाई श्याम खत्री, सालो नाता पर्ने २३ वर्षीय रोजन खत्रीलाई घटनामा संलग्न छैनन भन्ने पुष्टि हुन सक्ने आधार नभएकाले जिल्ला अदालतले मंगलबार पुर्पक्षमा राख्ने आदेश भएको थियो ।

शव अन्तेष्टी गरी आन्दोलनको स्वरुप समेत परिवर्तन गरिने संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिका संयोजक पदम किसानले बताउनुभयो । मृतक परियारको डिएनए परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको रिर्पोट बाहेक अन्य सबैमा हत्या नै भएको देखिएको थियो ।

मुख्य अभियुक्त खत्रीलाई कर्तव्य ज्यान मुद्दामा हदैसम्म अर्थात सर्वस्व सहित जन्म कैद सजाय तथा अन्य अभियुक्तलाई समेत ज्यान सम्बन्धि कसुर अन्तरगत ज्यान मार्ने वा मार्न सघाएको अभियोगमा हदैसम्म अर्थात आजीवन कारावास सजाय माग गरिएको छ ।

मीना बेपत्ता भएपछि निरन्तर परिवार र दलित संघसंस्थाले चरणबद्ध आन्दोलन गरेका थिए । मृतक परियारको श्रद्धाञ्जली सभामा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि सहित दलित अधिकारकर्मी तथा शुभेच्छुकहरुको उपस्थिती रहेको थियो ।

You can share this post!

कास्कीमा श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

‘बेनीको बजार, जता माया उतै छ नजर’ गीत सार्वजनिक

Related posts