पर्वतको चुवामा प्रसारण लाइनको टावर ढल्यो, ६८.२ मेगावाट विद्युत प्रणाली बाहिर

अबिरल वर्षका कारण पर्वतको चुवामा प्रसारण लाइन टावर ढलेको छ । नेपाल विद्युत प्राधिकरणको मोदी खोला विद्युतगृह र निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको मोदी खोला–१ जलविद्युत आयोजनाको बीचमा पर्ने टावर पहिरोले ढालेको हो ।
मोदी -१ जलविद्युत आयोजनाको विद्युत मोदी सबस्टेसनमा जोड्न कम्पनीले निर्माण गरेको १३२ केभी प्रसारण लाइनअन्तर्गत पर्वतको चुवामा पर्ने ४ नम्बर टाबरलाई पहिरोले ढालेको नेपाल विद्युत प्राधिकरणले जानाकारी दिएको छ ।
यसबाट निजी क्षेत्रको स्वामित्वमा पर्वत, म्याग्दी र मुस्ताङमा सञ्चालित विद्युतगृहहरुको ६८.२ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बिच्छेद भएको छ । टावर ढल्दा म्याग्दीमा रहेका ४२ मेगावाटको मिस्त्री खोला तथा ५ मेगावाटको घलेम्दी खोला, मुस्ताङमा रहेको ११.२ मेगावाटको थापाखोला र पर्वतको १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत आयोजनाको उत्पादन बन्द भएको हो । प्राधिकरणले टावर मर्मतको काम तत्काल सुरु गर्न र विद्युत आपूर्तिलाई सुचारु गर्न बितरण तथा ग्राहक सेवा गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रमुख केदार सिलवाल, पोखरा ग्रिड प्रमुख माधव पौडेललगायतको टोलीलाई खटाएको छ ।
आतपत्कालीन रुपमा इमर्जेन्सी रेस्टोरेसन टावर प्रयोगमार्फत तत्काल काम थाली विद्युतहरु सञ्चालन र बैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । ‘लेदो आइरहेका कारण टावर ढलेको स्थानमा हाम्रो टिम जान सकेको छैन, इमर्जेन्सी रेस्टोरेसन टावर प्रयोग गरी जतिसक्दो छिट्टो लाइन सुचारु गर्न प्रयास गरिरहेका छौं, यसका लागि बढीमा ५ दिन लाग्न सक्छ’,घिसिङले भन्नुभयो ।
कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना सबस्टेसनमा जोडिएका मिस्त्री, थापाखोला र घलेम्दी आयोजनाको विद्युत कुश्मा सबस्टेसन हुदै मोदी–१ जलविद्युत आयोजनाको १३२ केभी प्रसारण लाइनमार्फत मोदी सबस्टेसन प्रवाह गरिएको छ । टावर ढलेका कारण अहिले विद्युत प्रवाह बन्द भएको छ । मोदी सबस्टेसनबाट स्थानीय रुपमा आपूर्ति गरी बाँकी रहेको विद्युत पोखरातर्फ प्रवाह गरिन्छ ।
अर्थतन्त्रबाट

You can share this post!

म्याग्दीमा नेपाली कांग्रेसको वडा अधिवेशन ४१ वडामा सर्वसम्मत

मोना नागोयाको अध्यक्षमा राम बहादुर किसान चयन

Related posts