४२ औँ मगर दिवसः माविस्तरीय सालैजो शिरफुले लोकनृत्य प्रतियोगितामा प्रकाश मावि प्रथम

म्याग्दी । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले ४२ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा आयोजना गरेको संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको स्मृतिमा अन्तर मावि सालैजो शिरफुले लोकनृत्य प्रतियोगिताको उपाधि बेनीस्थित प्रकाश माविले जितेको छ ।

बुधबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित प्रतियोगितामा बेनी सामुदायिक मावि द्धितिय, न्यु वेष्ट पोइन्ट आवासीय मावि तृतिय भएका छन् । प्रथम, द्धितिय, तृतियले क्रमश २० हजार, १२ हजार, ८ हजार नगद, ट्रफी, प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा बेनी आवासीय मावि र दरबाङ बोर्डिङ स्कुलले सान्त्वना क्रमश ५ हजार नगद, ट्रफी, प्रमाणपत्र प्राप्त गरेको नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका उपाध्यक्ष खम थापाले जानकारी दिनुभयो ।

प्रतियोगितामा १० विद्यालयले सहभागिता जनाएका थिए । दिवसको अवसरमा आयोजित प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा खम्बीरले उद्घाटन गर्नुभएको थियो ।

नयाँ पुस्ता आधुनिक कला र संस्कृतिमा रमाइरहेको अवस्थामा प्रतियोगिताले मगर समुदायको मौलिक कला, संस्कृतिदेखि भाषा भेषभुषा पुस्तान्तरणको अभियानमा सघाएको सांसद गर्बुजाको भनाई थियो ।

सोही अवसरमा गण्डकी प्रदेशकी पूर्वमन्त्री नरदेबी थापा, जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका मेयर सुरत केसी, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा, नेपाल भाषा मंकाखल म्याग्दीका कार्यवाहक अध्यक्ष कुविरकुमार श्रेष्ठ, मगर संघ म्याग्दीकी निर्वतमान अध्यक्ष डकमायाँ पुनले मन्तब्य राखेका थिए । दिवसको अवसरमा मगर संस्कृति झल्किने भेषभुषा सहित बेनी बजार परिक्रमा गरिएको थियो ।

You can share this post!

सुदिप स्मृति कोषले उच्च माविका उत्कृष्ट विद्यार्थीलाई सम्मान

१०औँ माघेसंक्रान्ति मेलाको आय व्याय सार्वजनिकः व्यवसायिक हितकोषमा १ लाख प्रदान

Related posts