मसार तथा राक्सेका बाढीपहिरो प्रभावितलाई एमाले म्याग्दीद्वारा खाद्यान्न वितरण

म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गाको तातोपानीस्थित मसार तथा राक्सेका बाढीपहिरो प्रभावितलाई शुक्रबार खाद्यान्न सामग्री वितरण भएको छ । नेकपा एमाले जिल्ला कमिटी म्याग्दीद्वारा स्थापित ‘नेकपा एमाले विपद् व्यवस्थापन कोष’मार्फत खाद्यान्न खरिद गरी बाढीपहिरो प्रभावितलाई वितरण गरिएको हो ।


बाढीपहिरो प्रभावित प्रति परिवारलाई एकएक बोरा चामल, दुईदुई केजी दाल, चिनी, एकएक लिटर खानेतेल, एकएक प्याकेट चियापत्ती र नुनलगायत दैनिक उपभोग्य सामग्रीहरु वितरण गरिएको छ । उक्त सामग्री बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेर पीडितलाई प्रत्यक्ष रुपमा वितरण गरिएको नेकपा एमाले म्याग्दीले जनाएको छ । मसारका १८ घरधुरी र राक्सेका ५ घरधुरीलाई खाद्यान्न वितरण गरिएको छ ।

यसैगरी सिङ्गाका ४ घर परिवारलाई भने शनिबार खाद्यान्न सामग्री वितरण गरिने बेनी नगरपालिका–४ का वडा अध्यक्ष गोविन्द पौडेलले बताउनुभयो । प्रभावित परिवार तथा खाद्यान्न सामग्रीसहित विवरणको पत्र नेकपा एमाले जिल्ला सचिवालय सदस्य एवं बेनी नगरपालिका कमिटी अध्यक्ष प्रमोद श्रेष्ठले वडाध्यक्ष पौडेललाई हस्तान्तरण गर्नुभएको थियो । लगत्तै अध्यक्ष पौडेलले पीडित परिवारको नामावलीअनुसार खाद्यान्नलगायत सामग्रीहरु वितरण गर्नुभएको थियो ।
एमाले म्याग्दीका सचिवालय सदस्य एवं युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सन्तोष रावलले सञ्चालन गरेको बाढीपहिरो प्रभावित परिवारलाई खाद्यान्न वितरण कार्यक्रममा एमाले म्याग्दीको लेखा कमिटी संयोजक चन्द्रकुमार केसी, जिल्ला सदस्य नारायण जिसी, युवा संघ नेपालका बेनी नगर कमिटी अध्यक्ष लक्ष्मण कटुवाल, वडा सदस्य खडानन्द कँडेल, सरस्वती माध्यमिक विद्यालय तातोपानीको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलप्रसाद श्रेष्ठ लगायतले सहभागिता जनाएका थिए ।
यसअघि पनि एमाले म्याग्दीले अन्नपूर्ण गाउँपालिका–५, शिखका पहिरो प्रभावित २० घर परिवारलाई खाद्यान्न सामग्री वितरण गरिसकेको छ । यसपटक असार पहिलो साता परेको भीषण वर्षासँगै आएको बाढीपहिरोबाट जोखिममा परेका म्याग्दीका १ सय ३३ घरधुरीलाई सुरक्षित स्थानमा सारिएको छ । तीमध्ये बेनी नगरपालिकामा ५७, अन्नपूर्ण गाउँपालिकामा ३७, मालिकामा २६, रघुगंगामा १२ र मंगलामा १ घरधुरी रहेका छन् ।

You can share this post!

गैसस महासंघको सिफारिसमा कार्यक्रम सञ्चालन गर्न माग

लकडाउन असार २३ गतेसम्म

Related posts