म्याग्दी । म्याग्दीका आगलागी पीडित र मृर्गौला पीडितलाई पोर्तुगलबाट दुई लाख दश हजार रुपैयाँ बढी सहयोग प्राप्त भएको छ । जिल्लाको मंगला गाउँपालिका–३,बरंजाका मृर्गौला रोगबाट पीडित गमबहादुर रोकालाई एक लाख र मालिका गाउँपालिका–१,निस्कोट स्थित छर्टुङका जीतबहादुर पुनलाई एक लाख दश हजार ९ सय रुपैयाँ सहयोग प्राप्त भएको हो ।
निस्कोट घर भई हाल पोर्तुगलमा कार्यरत सबिन्द्र पुन मगर (साजन) र ओमराज पुन मगरको नेतृत्वमा संकलित सो रकम नेपाल पत्रकार महासंघ म्याग्दीका सहसचिव पत्रकार साधन राम्जालीले बुधबार एक कार्यक्रमका विच पीडितद्धय रोका र पुनलाई हस्तान्तरण गर्नुभयो ।
आगलागी पीडितलाई दैनिक जिविका चलाउन सहज बनाउन र मृर्गौला रोगबाट पीडित रोकाको उपचारमा सहयोग पु¥याउने उद्धेश्यले पोर्तुगल स्थित बुइज्निन्क इन्टरनेशनल कम्पनीमा कार्यरत एक सय ५४ जना नेपालीहरुबाट सो रकम संकलन गरिएको सबिन्द्रले बताउनुभयो । साथै उहाँले सहयोगीदाता सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
माघ २० गते दिउँसो साढे तीन बजेको समयमा जीतबहादुरको घर अचानक आगलागी भएर नष्ट हुँदा एघार लाख रुपियाँ बराबरको क्षती भएको छ । गोठमा बस्दै आउनुभएका पीडित पुनको परिवारलाई स्थानीय जनकल्याण युवा क्लबले १५ हजार ,वडा कार्यालयले ६५ हजार रुपैयाँ बराबरको राहत सामाग्री,रेडक्रस,प्रवासमा रहेका निस्कोटबासी र स्थानीयबासीले आर्थिक र राहत सामाग्री सहयोग गरिरहेका छन् ।
दुवै मृर्गौला फेल भएका ३१ वर्षिय रोकाको मंसिरदेखि पर्वत अस्पतालमा नियमित डायलायसिस भइरहेको छ ।
उहाँका बुबाआमा, दुई छोरा र श्रीमती हुनुहुन्छ । अहिलेसम्म उपचारमा करिब करिब ६ लाख रुपियाँ खर्च भइसकेको मृर्गाैला पीडित रोकाको भनाई छ । आर्थिक अवस्था कमजोर भएका आगलागी पीडित पुन र मृर्गौला पीडित रोकाले सहयोग गर्न सबैलाई अनुरोध गर्नुभएको छ । नेपाल मगर विद्यार्थी संघ म्याग्दीले दर्पण रोका मगरको नेतृत्वमा गबहादुर रोका बचाऊँ अभियान समेत संचालन गरिरहेको छ ।