अमेरिकी संसद भवनमा हतियारसहित आक्रमण, १ जनाको मृत्यु, वासिङ्टनमा कर्फ्यु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवन क्यापिटल बिल्डिङभित्र आक्रमण गरेका छन् । अमेरिकी कंग्रेसमा जो बाइडनको जितको पुष्टि गर्न छलफल भइरहेका बेला ट्रम्प समर्थकले हमला गरेका हुन् ।
सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र प्रवेश गरेपछि छलफल रोक्नु परेको थियो ।
ट्रम्प समर्थकले मच्चाएको हिंसाका कारण अवस्था तनावग्रस्त बनेपछि वासिङ्टनमा कर्फ्यु घोषणा गरिएको छ ।
प्रदर्शनका क्रममा संसद भवनभित्र गोली लागेर एक महिलाको मृत्यु भएको छ । ती महिलालाई छातीमा गोली लागेको थियो । प्रदर्शनका क्रममा ६ जना गम्भीर घाइते भएका छन् भने दुई दर्जन पक्राउ परेका छन् । सुरक्षाकर्मीले २ विस्फोटकसहित ५ हतियार नियन्त्रणमा लिएका छन् ।
अवस्था नियन्त्रण बाहिर गएपछि नेशनल गार्डलाई क्यापिटल हिल पठाइएको ह्वाइट हाउसकी प्रेस सेक्रेटरीले ट्वीटमार्फत जानकारी दिएकी छन् ।

उनले ट्वीटमा लेखकी छन्, ‘राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा नेशनल गार्ड अन्य संघीय रक्षा सेवाहरूका साथमा बाटोमा छन् । हामी हिंसाविरुद्ध र शान्ति कायम राख्नका लागि राष्ट्रपतिको आग्रह पुनः दोहोर्‍याउँछौँ ।’
प्रदर्शनकारीहरू झ्याल र ढोकामा तोडफोड गरेर भवनभित्र प्रवेश गरेका थिए । प्रदर्शनकारी हिंस्रक भएपछि सांसदहरूलाई प्रहरीले सुरक्षा दिएर बाहिर ल्याएको दृश्य देखिएको छ ।
भवनभित्र प्रवेश गरेका हतियारसहितका ट्रम्प समर्थकले सभामुखको कार्यकक्षमा बसेर ट्रम्पको पक्षमा नाराबाजी गरेका थिए ।
कंग्रेसको संयुक्त सत्रले इलेक्टोरल कलेज मतको गणना गरेर त्यसलाई पुष्टि गरिरहेका बेला सो हमला भएको हो । यो प्रक्रिया संक्षिप्त हुने भएपनि रिपब्लिकन सांसदहरूले केही मतपरिणामलाई अस्वीकार गरिरहेका थिए ।
बाइडनको जितलाई रोक्ने कुनै पनि प्रयास विफल हुने निश्चित छ । केही दिनदेखि राष्ट्रपति ट्रम्पले सो सत्रको अध्यक्षता गर्ने उप–राष्ट्रपति माइक पेन्समाथि पनि मत परिणामलाई प्रमाणिकरण नगर्न दबाब दिइरहेका छन् ।
तर बुधवार पेन्सले कंग्रेसलाई लेखेको पत्रमा कुन इलेक्टोरल मतको गणना गर्नुपर्छ भन्ने निर्णय गर्ने एकाधिकार आफूसँग नभएको उल्लेख गरेका छन् । तर पनि ट्रम्पले आफ्नो हार प्रमाणिकरण रोक्न अन्तिम अस्त्र प्रयोग गरिरहेका छन् ।
वासिङ्टनका मेयरले अवस्थालाई नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरेका छन् । कर्फ्युका बाबजुद पनि संसद भवन क्षेत्रमा प्रदर्शन जारी छ ।

A supporter of President Donald Trump holds Trump flags stand outside the U.S. Capitol on Wednesday, Jan. 6, 2021, in Washington. (AP Photo/Jacquelyn Martin)

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनले विलमिङ्टन, डेलावेयरबाट राष्ट्रलाई सम्बोधन गर्दै ट्रम्प समर्थक भिडलाई पछि हट्न र लोकतन्त्रिक कार्यलाई अघि बढाउन दिन आग्रह गरेका छन् ।
उनले भने, ‘यो कुनै विरोध होइन । यो एउटा विद्रोह हो । डोनल्ड ट्रम्प अघि बढुन् र राष्ट्रिय टेलिभिजनमा आएर यो घेराबन्दीलाई समाप्त पार्ने माग गरुन् ।’ उनले ‘अति भएको’ पनि बताएका थिए ।
उनले ट्वीट गर्दै ट्रम्पलाई सो स्थानबाट समर्थकलाई हटाउन आग्रह गरेका छन् । एउटा अर्को ट्वीटमा उनले क्यापिटल बिल्डिङमा भएको आक्रमणमा सहभागीलाई अतिवादी भएको टिप्पणी गरेका छन् ।
राष्ट्रपति ट्रम्पले समर्थकहरूलाई शान्ति बनाइराख्न आग्रह गरेका छन् । उनले ट्वीट गर्दै क्यापिटल प्रहरीलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘उनीहरू हाम्रो देशकै पक्षमा छन् । शान्ति कायम गर्नुहोस् ।’
सो घटनापश्चात् ट्रम्पले एउटा भिडियो सन्देश जारी गरेर प्रदर्शनकारीहरूलाई घर फर्किन आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘एउटा चुनाव भयो त्यसलाई हामीबाट चोरेर लगियो । त्यो एउटा उत्साहपूर्ण चुनाव थियो यो सबैलाई थाहा छ, विशेषगरी अर्को पक्षलाई थाहा छ । तर अहिले तपाईँहरूले घर जानुपर्छ । हामीले शान्ति कायम गर्नुपर्छ । हामीले कानुन–व्यवस्था कायम राख्नुछ । हामी चाहन्छौँ कसैलाई क्षति नपुगोस् ।’
उपराष्ट्रपति माइक पेन्सले पनि प्रदर्शनकारीहरूलाई हिंसा नगर्न आग्रह गरेका छन् ।
उनले ट्वीट गर्दै लेखेका छन्, ‘क्यापिटलमा भएको यो हमलालाई खप्न सकिदैँन र त्यसमा जो सामेल छन् उनीहरूलाई कडाभन्दा कडा कानुनी सजाय दिइनेछ ।’

You can share this post!

नैतिकता नभए पछि प्रचण्डले सुर्य चिन्ह्र आँखा लगाएः नेता बस्नेत

शेयर बजारः ४१ अंकले बढ्यो नेप्से, ६ अर्ब ३२ करोड बढीको कारोबार

Related posts