बेनी नगरपालिकामा जग्गा वर्गीकरण सकियो, अव कित्ताकाट खुल्ने

म्याग्दी । बेनी नगरपालिकाले नगरक्षेत्रभित्रको जग्गा वर्गिकरण कार्य सम्पन्न गरेको छ । आगामी आर्थिक बर्षदेखि कार्यान्वयनमा ल्याउने गरी तयार गरिएको जग्गा वर्गीकरणलाई कार्यापालिकाबाट निर्णय गरेर १३ औँ नगरसभामा अनुमोदन गरिएको नगरप्रमुख सुरत केसीले बताउनुभयो ।

आगामी आवको नीति, कार्यक्रम तथा बजेट सम्वन्धी जानकारी गराउने उद्देश्यले आयोजना गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख केसीले अनुमोदन गरेको जग्गा वर्गीकरण सहितको निर्णयलाई विभागमा लगेर स्विकृत प्रश्चात अनुमति लिएर आगामी आर्थिक बर्षदेखि नगरभित्र कित्ताकाट सुरु गरिने बताउनुभएको हो ।

“जग्गाको कित्ता काट रोकिएका कारण नगरबासीलाई निक्कै समस्या भएको छ । आगामी आर्थिबर्षदेखि कित्ता काट सुरुभएपछि वित्तिय संस्था र ब्यक्तिलाई जग्गा किनबेचमा सहज हुने छ ।”– उहाँले भन्नुभयो । “जग्गाको कित्ताकाट सुरु भएपछि जग्गाको विक्री वितरण बढेसंगै नगरको राजश्व असुलीमा समेत बृद्धि हुने छ ।”

आगामी बर्षदेखि कित्ता काट सुरु गर्ने गरी भू–उपयोग नीति अनुसार बेनीमा आवाशीय, कृषि, औधोगिक, ब्यवसायिक, खानी तथा खनिज क्षेत्र, वन, नदि, खोला, ताल सिमसार, सार्वजनिक उपभोग, साँस्कृतिक तथा पुरातात्विक महत्व र अन्य क्षेत्रमा गरिएको जग्गा वर्गीकरणलाई नगरसभाबाट पारित गरेको छ । नेपाल सरकारले नै जग्गाको वर्गीकरण गरेर मात्र कित्ताकाट गर्नका लागि परिपत्र गरेपछि जग्गाको कित्ताकाटका लागि नगरपालिकाले यस बर्ष जग्गाको वर्गीकरण गरेको थियो ।

उहाँले आगामी आवदेखि नगरपालिकामा संघसंस्था दर्ता सुरु गर्ने गरी नगरसभाबाट संघसंस्था दर्ता ऐन पारित गरिएको जानकारी दिनुभयो ।
“शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, समृद्ध, बेनी नगरको मूल आधार” भन्ने नारासहित आगामी आवदेखि कार्यान्वयन गर्नेगरी कृषि उत्पादनमा बृद्धि ः नगरको समृद्धी”, “एक वडा एक उत्पादन”, ”पशुउत्पादनमा बृद्धिः आर्थिक उपार्जन सहितको समृद्धि”, कृषि र पशुपालनलाई समेट्दै कृषकको उत्पादनको आधारमा अनुदान दिने अभियानमा नगरपालिका रहेको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताउनुभयो । नगरभित्रका पर्यटकीय सम्भावनालाई बलियो बनाउन “एक वडा एक पर्यटन परियोजना” पर्यटन गुरुयोजना बनाउने तयारी रहेको अधिकृत ढकालले जानकारी दिनुभयो ।

विद्यालयको दरवन्दी मिलान, एक विद्यालय एक नर्शसहित स्वास्थ्य सामाग्री, नगर खेलकुद समिति, जेष्ठ नागरिक र अपाङ्ग परिचयपत्र वितरणकालागि घुम्ती शिविर आगामी आर्थिक बर्षदेखि प्रभावकारी रुपमा कार्यान्वयन गर्न कार्यविधि बनाईने नगरले जानकारी दिएको छ ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा अपेक्षित सुधार ल्याउन मेयरसंग सामाजिक कार्यक्रमलाई निरन्तरता र जेष्ठ नागरिक र अपाङ्गलाई लक्षित गरेर घरघरमा स्वास्थ्यकर्मी अभियानलाइ संचालन गरिने अधिकृत ढकालले बताउनुभयो । नगरबासीको गुनासो सुन्नकालागि हेल्लो मेयर कार्यक्रम हरेक महिनामा संचालन गरिने छ ।

बेनी नगरपालिका प्रवक्ता एवम् वडानम्वर ७ का वडाअध्यक्ष रमेशकुमार श्रेष्ठले शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधार, कृषि, खेलकुद पर्यटन लगायतमा समेटिएको विषयबस्तु र बजेटबारे जानकारी गराउनुभएको थियो । पत्रकार सम्मेलनमार्फत नगरप्रमुख केसीले नगरको विकासमा टेवा पुग्ने गरी गण्डकी प्रदेश सरकारबाट नगरलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुहुने भौतिक पूर्वाधार मन्त्री रेशम जुग्जाली, सदस्यद्वय हरी भण्डारी र विमला गौचनलाई आभार प्रकट गर्नुभएको थियो ।

You can share this post!

ताराखेतमा जोखिमपूर्ण सडक ढलानः स्तरोन्नतीले सर्वसाधारणलाई सहज

अन्नपूर्णका कृषकलाई अनुदानमा कृषि औजार वितरण

Related posts