प्रतिष्ठान म्याग्दीको कार्यालय संचालनमा जिसी परिवारको सहयोग

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका –८ क्याम्पसचोक निवासी बेद बहादुर जिसी (मनिराज) र उहाँकी श्रीमति माया जिसीले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको कार्यालय संचालनका लागि सहयोग गर्नुभएको छ ।

जिसी परिवारले क्याम्पसचोकमा रहेको आफ्नो घरमा प्रतिष्ठानको कार्यालय संचालनका लागि निशुल्क रुपमा एउटा कोठा उपलब्ध गराउनुभएको हो ।

गत मंसिर २९ गते सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिले प्रतिष्ठानको गतिविधिलाई व्यवस्थित बनाउनका लागि कार्यालय स्थापना गर्ने तयारी गरिरहेको बेला जिसीले निशुल्क रुपमा कोठा उपलब्ध गराउने घोषणा गर्नुभएको हो । जिसीले मासिक ५ हजार भाडा तिर्नुपर्ने कोठा निशुल्क रुपमा प्रतिष्ठानलाई कार्यालय संचालन गर्न दिनुभएको हो ।

हाल पुन होटल एण्ड नान हाउस संचालन रहेको जिसीको घरको दोस्रो तलामा प्रतिष्ठानको कार्यालय स्थापना गरिने प्रतिष्ठान म्याग्दीका नवनिर्वाचित अध्यक्ष ध्रुव जिसीले बताउनुभयो । उहाँका अनुसार प्रतिष्ठानले बैठक तथा अन्य कार्यक्रम संचालनका लागि भुईतलामा रहेको हल समेत निशुल्क रुपमा प्रयोग गर्न पाउने भएको छ । अर्को व्यवस्था नभएसम्मका लागि निशुल्क रुपमा कार्यालय संचालन गर्न दिनुभएको छ, अध्यक्ष जिसीले भन्नुभयो ।

जिल्लाको कला संस्कृतिको संरक्षणका लागि स्थापना भएको प्रतिष्ठानलाई थप व्यवस्थित बनाउनका लागि घरमा निशुल्क रुपमा कार्यालय संचालन गर्न दिएको जिसीले बताउनुभयो । भूपू इन्डियन आर्मी समेत रहनुभएका जिसीले प्रतिष्ठानले गर्ने हरेक गतिविधिहरुमा यस अघि पनि आर्थिक सहयोग गर्दै आउनुभएको थियो ।

कार्यालय संचालनका लागि निशुल्क कोठा पाएपछि प्रतिष्ठान म्याग्दीले जिसी परिवारलाई आभार प्रकट गरेको छ । बुधबार प्रतिष्ठानका सचिव विजुन केसी र अध्यक्ष ध्रुव जिसीको हस्ताक्षरमा एक विज्ञप्ती जारी गर्दै सहयोगको उच्च कदरका साथ जिसी परिवारलाई धन्वाद ज्ञापन गरेको हो ।

कार्यालयका लागि आवश्यक सामग्रीहरु व्यवस्थापन र सजावट गरेपछि एक कार्यक्रमका विच कार्यालय उद्घाटन गर्ने योजना बनाएको प्रतिष्ठान म्याग्दीका सचिव विजुन केसीले बताउनुभयो । स्थापनाको १६ बर्षपछि प्रतिष्ठानले आफ्नो कार्यालय स्थापना गर्न लागेको हो ।

You can share this post!

नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा म्याग्दीका बरुवालको उम्मेदवारी

दरबाङ बजार अनुगमनः अखाद्य वस्तु जफत गरि नष्ट गरियो

Related posts