बेनीमा निर्वाचनमा सञ्चार माध्यमको भूमिका सम्वन्धी अभिमुखिकरण कार्यक्रम

म्याग्दी । जिल्ला निर्वाचन कार्यालय म्याग्दीको आयोजनामा  म्याग्दीको बेनीमा शुक्रबार मिडिया अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

आगामी मंसिर ४ गते सम्पन्न हुन गईरहेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरि जिल्लामा क्रियाशिल पत्रकार तथा संचारकर्मीहरु संग अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला न्यायाधिश तथा मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद नेपालले प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल बनाउने कार्यमा अग्रणी भूमिका निभाउन संचारकर्मीहरुलाई आग्रह गर्नुभयो ।

उहाँले निर्वाचन राज्यसत्तालाई स्थापित र विस्थापित गर्ने लोकतान्त्रीक माध्यम भएकाले यसलाई स्वच्छ, निष्पक्ष र प्रभावकारी गराउने कार्यमा मिडियाकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । मिडियाकर्मीहरुले समाचार प्रकाशन प्रसारण गर्दा सत्य तथ्यमा आधारित हुन पनि उहाँले सुझाव दिनुभयो ।

म्याग्दी जिल्लाको निर्वाचन निष्पक्ष, धाँधलीरहित र पारदर्शी तरिकाले सम्पन्न भएको सन्देश देशभरि दिने गरि काम गर्न सरोकारवाला पक्षलाई अनुरोध समेत गर्नुभएको छ । साथै उहाँले निर्वाचन सम्वन्धी आचारसंहितालाई पूर्ण रुपमा पालना गर्न र गराउन पनि आव्हान गर्नुभएको छ ।

कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी भिम प्रसाद घिमिरले निर्वाचन आयोगको हाल सम्म भएका गरेका गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो । साथै उहाँले निर्वाचन आचारसंहिता र सञ्चार माध्यमको भूमिकाका विषयमा प्रस्तुतिकरण समेत गर्नुभएको थियो ।

त्यस्तै नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले निर्वाचनमा पत्रकारको भूमिका तथा निर्वाचन सम्वन्धी रिपोर्टिङको विषयमा संचारकर्मीहरुलाई अभिमुखिकरण गर्नुभएको थियो ।

कार्यक्रममा सहायक निर्वाचन अधिकृत, श्रेस्तेदार तेज प्रसाद पौडेल, जिल्लामा क्रियाशिल पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम पत्रकार महासंघका अध्यक्ष पौडेलको अध्यक्षता, जिल्ला निर्वाचन अधिकारी घिमिरेको स्वागत र जिल्ला निर्वाचन कार्यालयका नायव सुव्वा चित्रनाथ शर्माको संचालनमा सम्पन्न भएको थियो ।

 

You can share this post!

दार्चुलामा ओलीले भनेः नदी वर सर्दैमा सीमा सर्दैन, भारतले झमेला निकाल्यो

पुलाचौर र कुहुँबाट एमालेको चुनावी अभियान सुरु, जिल्लाको विकासका लागि एमालेलाई भोट दिन नेताहरुको अपिल

Related posts