खेलको उत्कृष्ट व्यवस्थापन गर्न राखेप सदस्य गुरुङको आग्रह

म्याग्दी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत यहि असोज २७ गतेदेखि  म्याग्दीको बेनीमा संचालन हुने राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिताको उत्कृष्ट  व्यवस्थापनमा जुट्न  राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले अनुरोध गर्नुभएको छ ।

मंगलबार खेलमैदानको अवस्था र प्रतियोगिताका लागि जिल्लामा हालसम्म भएका तयारीको अवस्था बुझ्न म्याग्दी सदरमुकाम बेनी आउनुभएका गुरुङले खेलाडीको स्वागत, सुरक्षा, आवास, खेल अवधिभर यातायातको व्यवस्था लगातका बिषयमा उत्कृष्ट व्यवस्थापन गर्न बेनी नगरपालिका, जिल्ला खेलकुद विकास समिति तथा जिल्लाबासीहरुलाई आग्रह गर्नुभएको हो ।

नवौँ राष्ट्रिय खेलकुदको खेलमैदान व्यवस्थापन उपसमितिका संयोजक समेत रहनुभएका गुरुङले बेनीको खुल्लामञ्च र कालीपुलको कवर्डहल निरिक्षण समेत गर्नुभएको थियो । तेक्वान्दो प्रतियोगिता संचालन गर्ने कालीपुल स्थित कवर्डहलमा बत्ती र फेनको व्यवस्था गरिएको छ भने नगरपालिकाको आर्थिक सहयोगमा बाहिरपट्टी ढलान गरिएको छ ।

त्यस्तै भलिबल प्रतियोगिता संचालन गरिने खुल्लामञ्चमा दुइवटा भलिबल कोर्ट निर्माण गर्ने, खानेपानी र शौचालयको व्यवस्थापन, मञ्चमा रंगरोगन, नयाँ स्टेज निर्माण गर्ने लगायतका कार्यहरु सुरु गरिएको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले बताउनुभयो ।

सदस्य गुरुङ सहितको प्राविधिक टोलीले खेलकुद स्थल अवलोकन पछि जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा समन्वय प्रमुख राजकुमार थापाले प्रतियोगिताको तयारीको बारेमा जानकारी गराउनुभएको थियो । हामीले जिल्लाको गौरवका रुपमा लिएका छौँ, सवै मिलेर प्रतियोगिता भव्य रुपमा सम्पन्न बनाउँछौ, प्रमुख थापाले भन्नुभयो । म्याग्दी जिल्लामा पहिलोपटक परेको राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरर्गतका यी दुईखेललाई सफलताका साथ सम्पन्न गर्नका लागि जिम्मेवारीका साथ तयारी थालिएको छ ।

बेनी नगरपालिका वडा नम्वर ७ र ८ ले अतिथि सत्कार, उद्योग वाणिज्य संघले झाँकी व्यवस्थापन, भलिबल संघले खेलमैदान व्यवस्थापन, म्याग्दी होटल तथा रेस्टुरेन्ट संघले आवासको व्यवस्थापन, बेनी अस्पताल, स्वास्थ्य कार्यालय, बेनी नगरपालिकाका स्वास्थ्य शाखा र रेडक्रसले खेलाडीको स्वास्थ्यउपचार, जिल्लास्थित रहेका सुरुक्षा निकायले सुरक्षा व्यवस्थापन लगायतका कार्यहरु जिम्मेवारीका साथ सम्पन्न गर्ने योजना बनाईएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।

दुवै प्रतियोगिताका खेलाडी तथा अफिसियल सहित ६१७ जनालाई खाना तथा खावासका लागि बेनीका होटलहरु व्यवस्थापन भैसकेको अध्यक्ष केसीले बताउनुभयो । उहाँका अनुसार खेलकुद स्थलमा बेनी खानेपानी उपभोक्ता संस्थाले निशुल्क रुपमा पानीको व्यवस्थापन गर्ने भएको छ भने खुल्लामञ्चमा शौचालय र स्टेज समेत निर्माण गरिने भएको छ ।

बेनी बजारका सवैटोलबासीहरुलाई तुल व्यानर राख्नेका लागि अनुरोध गरेको पनि केसीले बताउनुभयो । खुल्लामञ्चमा दुईवटा भलिबल कोर्ट तयार गर्न सुरु गरिएको र प्रतियोगितालाई भव्यताका साथ सम्पन्न बनाउनका लागि सम्पूर्ण साथ सहयोग रहने म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो । प्रतियोगिता सफल बनाउनका लागि सवै जिल्लाबासीको सहयोग तथा विशेषगरि बेनी बजारबासीले बजार सरसफाई गरि तथा टोल टोलमा व्यानर राखिदिन समेत नगरपालिकाले आग्रह गरेको छ ।

 

You can share this post!

हुलाकका कर्मचारीलाई क्षमता अभिबृद्धि तालिम

बेनीमा सुआहारा दोस्रो कार्यक्रमको समीक्षा

Related posts