गाजनेमा रथयात्रासँगै सरकारी भोज आयोजना, जगन्नाथ क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउनुपर्नेमा जोड

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहाँसिक तथा पुरातात्विक महत्व बोकेको जगन्नाथधामको मङ्गलवार रथयात्रा भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गरिएको हो ।

कार्यक्रमका अतिथिहरु, जनप्रतिनिधि, मन्दिरका पुजारी, सहभागी भक्तजन, गुठी व्यवस्थापन समितिका पदाधिकारी, स्थानीयवासी लगायतले भजनकीर्तन गर्नुका साथै भगवान् जगन्नाथको मूर्ति बोकेर रथयात्रा गरेका हुन् । जगन्नाथको रथयात्रा भजनकीर्तनसहित मन्दिर परिसरमा परिक्रमा गराइएको जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ ।

सर्वसाधारण सबैले जगन्नाथको दर्शन गरुन् भन्ने उद्देश्यका साथ हरेक वर्षको श्रावण शुक्लपक्ष द्वादशी तिथिका दिन जगन्नाथको रथयात्रा गराउने प्रचलन रहिआएको छ । विगतमा एक, दुईजना व्यक्तिले पनि साफा लिएर मन्दिरको दर्शन गर्न आएमा भगवान् जगन्नाथको दर्शन गराइदिने गरिएको हुँदा यसबाट तँछाडमछाड हुने र जसले जतिपटक पनि ल्याउन सक्ने भएकाले यस्तो कार्य रोक्न हरेक वर्षको एकपटक मात्रै प्रत्यक्ष दर्शन गर्ने व्यवस्था मिलाइएको छ । श्रावण शुक्ल द्वादशीमा रथयात्राको कार्यक्रम आयोजना गरी सोही दिन सबैलाई भगवान् जगन्नाथको पनि दर्शन गराइदिने र साफालगायत कपडा फेरिदिने प्रचलन कायम गरिएको गुठी सञ्चालन तथा व्यवस्थापन समितिका सचिव निलकण्ठ शर्माले जानकारी दिनुभयो ।

भगवान् जगन्नाथको रथयात्रा शुभारम्भ गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले नगर क्षेत्रभित्र रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले जगन्नाथ मन्दिरको महत्व ऐतिहासिक रहेको भन्दै नगरपालिकामार्फत मन्दिरको विकासका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । नगरपालिकामार्फत बेनी–लभ्लीहिल र पुलस्त्य पुलहाश्रम हुँदै जगन्नाथ, केभहिलसम्म केबलुकार सञ्चालन गर्न आवश्यक तयारी थालिएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँ र गैरसरकारी संस्था महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष दिपक पौडेलले जगन्नाथधामलाई धार्मिक पर्यटकीय गन्तव्यको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो ।

रथयात्रा कार्यक्रममा पण्डित दण्डपाणि शर्माले स्वस्तीवाचनसहित प्रवचन सुनाउनुभएको थियो । सरकारी भोजको समेत आयोजना गरिएको रथयात्रा कार्यक्रममा कुल ३७ पाथी चामलको खिर पकाइएको थियो भने जगन्नाथ आमा समूह र युवा क्लबले स्वयंसेवा गरेका थिए ।

यसवर्ष रथयात्रामा म्याग्दीसहित पर्वत, बागलुङ, चितवन, नवलपरासीलगायत जिल्लाबाट श्रद्धालु भक्तजनहरु जगन्नाथधामको दर्शन गर्न तथा रथयात्रामा सहभागी हुन पुगेका थिए । कार्यक्रम जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिका कोषाध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षता, सचिव निलकण्ठ शर्माको सञ्चालन र मन्दिर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँको स्वागतमा सम्पन्न भएको थियो ।

जगन्नाथ मन्दिरको ऐतिहासिक पर्वत राज्यका तत्कालीन राजा दिलिपबम मल्लले सन् १५६० को दशकमा भारतको उडिसा राज्य गएर जगन्नाथ भगवानको मूर्ति ल्याई मन्दिरको स्थापना गरेको किम्बदन्ती पाइन्छ । सोही समयदेखि नै गाजनेमा घरपालुवा कुखुरा, संगुर, बंगुर तथा अवैध घरेलु मदिरा उत्पादनमा लगाइएको रोक अहिलेसम्म पनि कायम रहेको छ ।

आजभन्दा ५ सय १९ वर्ष पुरानो जगन्नाथधाम (मन्दिर) भित्र भगवान् जगन्नाथ, डिम्ब महाराज, गणेश, राम, लक्ष्मण, कृष्ण, बलराम, नृसिंह, चतुर्बाहु लगायतका मूर्तिहरु रहेका छन् । मन्दिरमा दैनिक रुपमा नित्य पुजाआजा हुँदै आएको छ ।

You can share this post!

राजेन्द्र सापकोटाले तिज गीत मार्फत ‘सम्झे मायालाई’

महंगी र भ्रष्टाचार विरुद्ध नेकपा एमालेको विरोध प्रदर्शन

Related posts