बेनीका होटल व्यवसायीसंग सचेतनामुलक कार्यक्रम

म्याग्दी । म्याग्दीका होटल व्यवसायीहरुसँग कानुनी सचेतना तथा लैङ्गिक हिंसा न्युनीकरण गर्ने सम्बन्धी विषयमा बिहीबार सदरमुकाम बेनीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीज पर्वको सन्दर्भ पारेर होटल व्यवसायीलाई लक्षित गरी कार्यक्रम गरिएको हो ।

सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय र आर्थिक सहयोग, म्याग्दी होटेल तथा रेष्टुरेण्ट व्यवसायी संघसँगको सहकार्य र मिलन म्याग्दी एवं महिला अधिकार मञ्च म्याग्दीको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले होटल, व्यवसायलगायत विभिन्न क्षेत्रमा हुने लैङ्गिक हिंसाको न्युनीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममाथि सहजीकरण गर्दै प्रजिअ रानाले समाजमा विभिन्न पाँच प्रकारका लैङ्गिक हिंसा हुने गरेको बताउनुभयो । उक्त कार्यक्रममा प्रजिअ रानाले होटल व्यवसाय क्षेत्रमा हुने लैङ्गिक हिंसासम्बन्धी विषयमा सहजीकरणको साथमा प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सोही कार्यक्रममा म्याग्दीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले सहजीकरण गर्दै होटल व्यवसाय क्षेत्रमा हुने विभिन्न अनैतिक क्रियाकलापहरु रोक्नका लागि सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले होटल सञ्चालक आफू सचेत भएर आफ्नो व्यवसाय सञ्चालन गर्नुपर्ने बताउँदै होटलमा हुने अवाञ्छित तथा अनैतिक क्रियाकलापलाई नियन्त्रण गर्नका लागि समयमै सम्बन्धित निकायमा सूचित गर्न अनुरोध गर्नुभयो । उहाँले होटल व्यवसायको क्षेत्रलाई मर्यादित रुपमा सञ्चालन गर्नुपर्ने बताउँदै यसका लागि आफूले आवश्यक सहयोग गर्ने धारण व्यक्त गर्नुभयो ।

जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ल्ला न्यायाधिवक्ता धर्मराज पौडेलले होटल व्यवसायमा संलग्न व्यक्तिहरुका लागि विद्यमान कानुनी व्यवस्था, महिला हिंसा, बालश्रम शोषणसम्बन्धी कसुर र सुधारका क्षेत्रहरुको विषयमा सहजीकरण गर्नुभएको थियो । होटल व्यवसायी र सामाजिक विकासका क्षेत्रबीच अन्तरसम्बन्ध र हाम्रो गन्तव्यको विषयमा सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुुर कटुवाल र महिला मानवअधिकार रक्षक सञ्जालका जिल्ला अध्यक्ष रेखाकौशल रेग्मीले मन्तव्य व्यक्त गर्नुभएको थियो । मिलन म्याग्दीका अध्यक्ष कमला बानियाँ थापाको अध्यक्षता र कार्यकारी निर्देशक दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न कार्यक्रममा महिला अधिकार मञ्चका अध्यक्ष निरमाया मिजारले स्वागत गर्नुभएको थियो ।

You can share this post!

म्याग्दीका केसीले बनाए कोरियामा ब्याट्रीबाट चल्ने गाडी

संगीतकर्मी संघद्वारा आयोजित तिज गीत प्रतियोगीता हिरा बस्याल प्रथम

Related posts