मराङका वडा अध्यक्ष सुवेदीद्वारा सरकारी सवारी फिर्ता सहित राजिनामा

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङका वडा अध्यक्ष राजाराम सुवेदीले आफुले प्रयोग गर्दै आएको सरकारी सवारी फिर्ता गर्नुभएको छ ।  सुवेदीले अघिल्लो चुनावमा निर्वाचित भएयता आफुले प्रयोग गर्दै आउनुभएको ध १ ब ५०९ नम्बरको मोटरसाइकलको चाबी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर खत्रीलाई हस्तान्तरण गर्नुभएको हो ।

त्यस्तै सुवेदीले वडा अध्यक्षको पदबाट पनि राजिनामा दिनुभएको छ । उहाँले गाउँपालिका अध्यक्ष थमसरा पुनलाई उक्र राजिनामा पत्र बुझाउनुभएको नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् मराङका इन्र्जाज ईश्वर सुवेदीले जानकारी दिनुभयो ।

आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नका लागि बहालवाला जनप्रतिनिधिले राजिनामा दिनुपर्ने र आफु संग भएका सरकारी सामानहरु फिर्ता गर्नुपर्ने निर्वाचन आयोगको नियम अनुसार सुवेदीले पदबाट राजिनामा दिनुभई मोटरसाईकल पनि फिर्ता गर्नुभएको हो ।

सुवेदीलाई जिल्ला कमिटीले आसन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको उम्मेदवार चयन गरेको छ । वडा कमिटीले सुवेदी सहित ज्ञान बहादुर गर्बुजा र चन्द्र बहादुर पुनको नाम जिल्ला कमिटीमा सिफारिस गरको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएका सुवेदीले मराङको विकासमा उल्लेख्य भूमिका निभाउनुभएको छ ।

विपद व्यवस्थापन देखि सडक सुविधा, शिक्षा, स्वास्थ्य सामाजिक शसक्तिकरणका लागि सुवेदीले कुशल नेतृत्व गर्नुभएको छ । इमान्दार र कर्तव्यनिष्ठ जनप्रतिनिधिको छवि बनाएका सुवेदीलाई फेरी पनि जनताकै चाहना अनुसार अध्यक्षको उम्मेदवारमा अघि सारिएको वडा इन्चार्ज सुवेदीको भनाई छ ।

५ बर्षको अवधिमा वडाको सवै बस्तीमा सडकको ट्याक खोलिएको छ । ति सडकहरुलाई स्तरउन्नति गरि वाह्रै महिना संचालन गर्ने बनाउने, स्थानीय उत्पादनलाई बृद्धि गरि निर्यात गर्ने, युवाहरुलाई रोजगार सृजना हुने गतिविधिलाई प्राथमिकताका साथ अगाडि बढाउने लगायतका योजनालाई निरन्तरता दिई समृद्ध वडा निर्माण गर्ने लक्ष्यका साथ फेरी पनि वडा अध्यक्षमा उम्मेदवारी दिएको सुवेदीले बताउनुभयो । जनताको सेवामा हरसमय तत्पर रहने प्रतिज्ञा गर्दै उम्मेदवार सुवेदीले अमूल्य मत प्रदान गरि बिजयी बनाउन सम्पूर्ण मराङबासिहरुमा अनुरोध समेत गर्नुभएको छ ।

You can share this post!

राष्ट्रिय अपाङ्ग महासंघ गण्डकीको अध्यक्षमा म्याग्दीका शर्मा निर्वाचित

मंगलाको अध्यक्षमा माओवादीबाट टेकबहादुर बिश्वकर्मा उम्मेदवार

Related posts