म्याग्दी । म्याग्दीको एकमात्र सरकारी अस्पताल बेनी अस्पतालले सेवाग्राहीलाई सभ्य बन्न आग्रह गर्दै बिज्ञप्ती प्रकाशन गरेको छ ।
मंगलबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदी र मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलको संयुक्त हस्ताक्षरमा बिज्ञप्ती जारी गर्दै अस्पतालले स्वास्थ्यकर्मीहरु माथि असभ्य, दुव्र्यवहार नर्गन सेवाग्राहीहरुलाई सूचित गरेको छ ।
पछिल्लो समय केही सेवाग्राही र अस्पतालका कर्मचारीहरु विच बेमेलको वातावरण सृजना भएकाले सत्य तथ्य जानकारी गराउने उद्देश्यले अस्पतालले पत्रकार भेटभाट गरि बिज्ञप्ती सार्वजनिक गरको हो ।
बिरामीको स्वास्थ्य सेवामा समर्पित सम्पूर्ण स्वास्थ्यकर्मीलाई बारम्बार गालीगलौच तथा दुव्र्यवहार हुँदा डाक्टरको मनोवल कमजोर भई कामकाजमा प्रत्यक्ष असर पर्न थालेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
अस्पतालकामा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारीको कार्यस्थलमा गई कुनैपनि दुव्र्यवहार नगर्न सम्पुर्ण सेवाग्राहीहरुलाई आग्रह गर्दै यसो गरेमा कानून अनुसारको कारबाही गरिने चेतावनी दिइएको छ ।
यस्तो थियो घटना
गत फागनु २५ गते पर्वतका जलजला गाउँपालिका वडा नं ४ की २९ बर्षीय पुष्पा श्रेष्ठ घाँटि सम्बन्धि किटाणुको संक्रमणका कारण अस्पतालमा उपचारका लागि आउनुभएको थियो । घाँटि सम्वन्धी समस्या जटिल भएका कारण भविस्यमा आउन सक्ने खतराका बारेमा बिरामीको आफन्तलाई जानकारी गराई अस्पतालले भर्ना लिएर उपचार थालेको थियो ।
उपचार गराउँदै गर्दा फागुन २७ गते अचानक बिरामीको स्वास्थ्य अबस्था बिग्रदै गएपछि डाक्टरले अधिकतम प्रयास गर्दागर्दै पनि बिरामीको मृत्यु भएको थियो । सोही घटनालाई लिएर श्रेष्ठको आफन्त र अस्पताल प्रशासन बिच बिबाद उत्पन्न भएको थियो ।
सोही घटनामा आधारित रहेर अस्पताल व्यवस्थापन समितिका सदस्य बिज्ञानराज शर्मा र अस्पतालका डा. कँडेलबिच भनाभनको स्थिती सृजना भएपछि घटनाले उघ्ररुप लिएको थियो । तर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुवेदी सहितको समुहले सम्झाईबुझाई गरेपछि सदस्य शर्माले आत्मालेचना गरि डा. कँडेल समक्ष माँफि मागेपछि बिबाद साम्य भएको थियो ।
यस घटना घटेको दुइहप्ता पनि नपुग्दै चैत ८ गते डेन्टल शाखामा दाँतको उपचारका लागि आउनुभएकी बेनी नगरपालिका ६ निवासी सावित्री कार्की र डेन्टलका डाक्टर बिच बिबाद भएको थियो । डेन्टल शाखाका डाक्टरले बिरामी जाँच गरिरहेको बेला ओपिडीबाट जानुभएकी कार्कीले तत्काल उपचार नभएको भन्दै गुनासो गर्नथालेपछि दुईबिच झगडा नै भएको थियो ।
डाक्टरले उपचार गर्ने पालोमा बस्न आग्रह गर्दापनि बेवास्ता गरि तत्काल उपचार नभएको भन्दै सेवाग्राहीले गालीगलौच तथा दुव्र्यवहार गरेको विज्ञप्तीमा जनाईएको छ । पछिल्ला यी दुई घटनाले गर्दा बेनी अस्पतालको सेवामा समस्या उत्पन्न हुन थालेको छ । सेवाग्राही संगको बिबादका कारण अस्पतालमा कार्यरत कर्मचारीहरुले चैत ९ गते ओपिडी सेवा नै बन्द गराएका थिए ।
अस्पतालका प्रमुख डाक्टर कँडेलले पछिल्ला घटनाहरुले स्वास्थ्यकर्मीहरुको मनोवल गिरेको र त्रसित मानसिकताले प्रभावकारी सेवा दिन सक्ने अवस्था नरहको बताउनुभएको छ । डा. कँडेलले सिमित श्रोतसाधन, जनशक्ति र भौतिक संरचनामा पनि यस अस्पतालले उत्कृष्ट सेवा दिइरहेको समयमा स्वास्थ्यकर्मीलाई हौसला दिनुको साटो पटक पटक दुव्र्यवहार हुनु दुखद भएको बताउनुभयो ।
तर केही सेवाग्राहीहरुले भने अस्पताल सार्वजनिक ठाउँ भएकाले गुनासो गर्न पाइने बताएका छन । अस्पतालमा भनेको समयमा डाक्टर उपलब्ध नहुने, आवश्यक औसधि नपाईने, परामर्श पनि राम्रो नदिने, बिरामीको बेवास्ता गर्ने लगायतका समस्या रहेको सेवाग्राहीले बताएका छन । आफ्नो कमजोरी सुधार्नतर्फ नलागि सेवाग्राहीलाई लक्षित गरि चेतावनीपूर्ण भाषामा बिज्ञप्ती प्रकाशन गर्नु अस्पतालको दादागिरी भएको एक सेवाग्राहीले नाम उल्लेख नगर्ने सर्तमा जनसन्देश अनलाईनलाई बताउनुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुवेदीले डाक्टर र सेवाग्राहीको बिचमा भएका बिबाद सामान्य भएको र त्यस बिषमा दुवै पक्षलाई राखेर छलफल गरि मिलाईसकिएको बताउनुभयो । अस्पतालको सेवामा कुनै कमि नभएकोले ढुक्क भएर सेवा लिन पनि उहाँले अनुरोध गर्नुभयो । डाक्टर र बिरामीको सम्वन्ध सुमधुर हुन आवश्यक छ । डाक्टरको मिठो बोली र व्यवहारले बिरामीलाई निको हुने शक्ति मिल्न सक्छ । त्यसैले सेवाग्राही र स्वास्थ्यकर्मीबिचको सम्बन्ध सुमधुर बनाउने प्रयत्न गरिरहेका छौँ, अध्यक्ष सुवेदीले भन्नुभयो ।