पछिल्ला केही वर्ष यता अनाहकमा मजदुरले ज्यान गुमाउनु परेका घटनाहरु दोहोरिन थालेका छन् । कार्यस्थलमा न्यूनतम सुरक्षाका मापदण्डहरुको पालना नहुँदा मजदुरहरुको जीवन गुम्न थालेको छ । त्यो सरकारी,गैरसरकारी वा निजी स्तरका योजनाहरुमा किन नहोस् मजदुरको जीवन माथि खेलवाड गरिएको छ ।
गएको पुस १९ गते म्याग्दीको बेनी नगरपालिका–७,मंगलाघाटमा निर्माणाधिन घरबाट खसेर एक जना मजदुरको ज्यान गयो। बिना सुरक्षा साम्रागीको प्रयोग गरी तीन तला माथि काम गरिरहेको अवस्थामा भुईमा खसेर गम्भीर घाइते भएका उत्तरी अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका कृष्ण पुनको उपचारको क्रममा मृत्यु भयो । यो घटनाको कुनै सरकारी निकायबाट छानविन समेत गरिएन । किन की त्यहाँ मजदुरको ज्यान गएको थियो ।
लाामो समयदेखि निर्माण क्षेत्रमै सक्रिय रहेका पुनको परिवारलाई ठेकेदारले क्षर्तीपूर्ती दिएपछि घटना सेलायो । मंगलबार बेनी नगरपालिका–७,बिरेन्द्रचोकमा रहेको पिपलको रुख काटछाँट गर्दा पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं २ रुमका थामबहादुर पुनको खसेर ज्यान गयो। पुनको ज्यान जानुमा पनि सुरक्षाका न्युनतम मापदण्डहरु प्रयोग नगर्नु प्रमुख कारण हो ।
जिल्लाको प्रशासनिक केन्द्र अगाडी मजदुरको ज्यान गयो । किन र के कारणले घटना घट्यो ? यो वारेमा छानविन हुनुपर्ने हो तर केही पैसामा विषयलाई ढाकछोप गरिँदै छ । अग्लो तथा फैलिएको पिपलको रूखमा अनुभव भएकै कारण मजदुरले न्यूनतम सुरक्षालाई समेत ख्याल नगरेको पाइएको छ । तर जिम्मेवार निकाय किन मजदुरलाई सुरक्षा सामाग्री प्रयोग नगरी रुख चढ्न दियो त ?
मृतक पुन लामो समयदेखि बेनीबजार तथा पर्वत आसपासका क्षेत्रमा अग्लो रुखमै चढेर काट्ने गरेका थिए। हिस्तानका कृष्ण र रूमका थामबहादुर पुन एक प्रतिनिधिमुलक पात्र हुन् । निर्माणधिन अवस्थामा रहेका भौतिक संरचना तथा सार्वजनिक स्थानमा रहेको रुख काट्ने र सरसफाई गर्ने क्रममा न्यूनतम सुरक्षा साम्रागीको समेत प्रयोग नगर्दा बर्षेनी ज्यान गुमाउनुपरेको छ । यस्तै म्याग्दीको विकास योजनामा काम गर्ने मजदुरहरुको सुरक्षाका लागि कुनै सामाग्री प्रयोग गरेको पाइदैन ।
ब्यक्तिगत तथा सरकारी आयोजनामा कार्यरत मजदुरलाई आवश्यक पर्ने सुरक्षा साम्रागीको प्रयोगमा सरकारी निकायको निगरानीको अभाव तथा सम्बन्धित ब्यक्ति र निर्माण कम्पनीको बेवास्ताले ज्यान हत्केलामा राखेर काममा खटिनुपरेको छ । निर्माणधिन अवस्थामा रहेको संरचना तथा रुख र भिरबाट लडेर ज्यान गुमाउने र घाईते हुने सामान्य जस्तै भएको छ । जिल्ला प्रशासन कार्यालय अगाडी नै नगरपालिकाको कटान आदेशमा रुख काट्ने क्रममा दुर्घटना भएर मजदुरले ज्यानै गुमाएपछि न्यूनतम सुरक्षा उपकरणको प्रयोगमा सर्वसाधारणले समेत चासो देखाएका छन् ।
‘जोखिमलाई हेरेर सावधानी अपनाएको देखिएन्,‘सरकारी अनुमतिमा काट्ने क्रममा सुरक्षा साम्रागीको अनिवार्य प्रयोगलाई ध्यान दिनुपर्छ’ बेनीका यूवा हरिप्रसाद पौडेलले भन्नुभयो । उहाँले सुरक्षा जोखिमलाई समेत लत्र्ताएर काम गर्ने गरिएकाले बर्षेनी दुर्घटना हुने गरेको बताउनुभयो । रुख कटानीको क्रममा ज्यानको जोखिम मोलेर काम गरेको अवस्थामा सम्बन्धित निकायले निगरानी नगुर्न समेत गम्भीर लापरवाही भएको पौडेलको भनाई छ।
यता प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले न्यूनतम अनिवार्य मापदण्डको प्रयोग नगर्दा दुर्घटना बढेको बताउनुभयो ।‘पछिल्ला दुई घटनाले सचेत बनाएको छ,‘अब अनिवार्य सुरक्षाको साम्रागी प्रयोग नगर्नेलाई कारवाही गर्नुपर्छ’ प्रनाउ राईले भन्नुभयो । बेनी नगरपालिकको एउटै वडामा घटेका दुई घटनामा जोखिमको मुल्याङ्कन नगरी काम गरिएको अनुसन्धानको क्रममा देखिएको प्रहरीले जनाएको छ ।
यता नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) म्याग्दीका सचिव अर्जुन रानाले मजदुरको सुरक्षामा राज्यको निकाय नै उदासिन रहेको बताए । ‘मजदुरले अकालमै ज्यान गुमाउनुपरेको छ,‘न्यूनतम सुरक्षामा समेत कसैको ध्यान छैन’ सचिव रानाले भन्नुभयो ।
मजदुरले माग गर्दा समेत ठेकेदार र निर्माण कम्पनीले बेवास्ता गर्दा काममा खटिनुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले पटक–पटक भएका घटनामा आर्थिक क्षर्तीपुर्तीलाई मात्रै प्राथमिकता दिने गरिएको बताउँदै जोखिमको पहिचान र सुरक्षा साम्रागीको प्रयोगका विषयमा स्थानीय तहले समेत कुनै चासो नदिने गरेको मजदुर संगठनको गुनासो छ ।
बेनी–दरबाङ सडकखण्ड अन्तर्गत रणबाङ देखि दरबाङको खण्डमा काम गर्दै मजदुरहरु । जहाँ मजदुरको सुरक्षाका लागि कुनैपनि सामाग्रीको प्रयोग गरिएको छैन । तस्विर म्याग्दी प्रेस