म्याग्दीको दग्नाममा स्काभेटर सहित चालक पुरिए, ताकममा एक जना मृत भेटिए

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा सोमबार पहिरोले चालक सहित डोजर (स्काभेटर) पुरिएको छ । त्यस्तै धवलागिरी गाउँपालिका–७ ताकममा एक जना मृत्य भेटिएका छन् ।

तुदी पावर कम्पनीद्धारा निर्माणाधिन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलबिद्युत आयोजनाको सडक निर्माणका क्रममा चालक र स्काभेटर पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रघुगंगा गाउँपालिका–२ का अन्दाजी २७ बर्षका भिमबहादुर खत्री स्काभेटर सहित पहिरोमा पुरिएका प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले बताउनुभयो ।

‘अर्को स्काभेटरको सहायताले पुरिएको स्काभेटर र चालकको खोजी भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘सडक खनिरहेको अवस्थामा एक्कासी पहिरो खसेर पुरिएको हो ।’ प्रहरी निरीक्षक गुरुङ सहितको सुरक्षाकर्मी, आयोजनाका कर्मचारी, मजदुर र स्थानीयबासी पुरिएको स्काभेटर र चालकको खोजीमा जुटेका छन् ।

यसैगरी म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका अन्दाजी ७७ बर्षका गोरे थापा मृत भेटिनुभएको छ । ताकमको रत्नेगैरामा आइतबार साँझ मृत भेटिएका थापाको शव परिक्षणका लागि बेनी अस्पताल ल्याइएको छ ।

इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलको टोली अनुसन्धानका लागि सोमबार बिहान ताकम पुगेको छ । सडक छेउमा हिडिरहेका थापा लडेको ठाउँ भएर साँझको समय गाडी पार गरेको थियो ।

प्रत्यक्षदर्शीले गाडी नआउँदासम्म हिडिरहेका थापा गाडी अगाडी पार भइसकेपछि लड्नु र चोटपटक देखिनुमा गाडीको ठक्कर हुन सक्ने अनुमान गरेका छन् । घटनास्थलमा पुगेका प्रहरी निरीक्षक पौडेलले सिसिटिभी फुटेज, शब परिक्षण प्रतिबेदन र प्रत्यक्षदर्शीको भनाईका आधारमा थापाको मृत्युको कारण पहिचान गर्न अध्ययन थालिएको बताउनुभयो । मृतक थापा बोल्न नसक्ने हुनुहुन्थ्यो ।

 

 

You can share this post!

एसियन सेन्ट्रल जोन भलिबलः नेपालको पदक भित्राउने लक्ष्य

नेकपा एमाले मङ्गलाको टोल कमिटी निर्माण सुरु!

Related posts