गत आर्थिक वर्ष कृषि ज्ञान केन्द्र म्याग्दीमा कुल बजेटको ८० प्रतिशत खर्च 

हिमाली जिल्ला म्याग्दीमा गत आर्थिक वर्ष २०७७÷७८ मा कृषि ज्ञान केन्द्र म्याग्दीद्वारा सञ्चालित कृषिसम्बन्धी कार्यक्रमहरुको कुल बजेट मध्य ८० प्रतिसत बजेट खर्च भएको छ । ज्ञान केन्द्र म्याग्दीले गतवर्ष सञ्चालित कृषिका विभिन्न गतिविधिसहित प्रगति सार्वजनिक गर्दै कुल बजेटको ८० प्रतिसत बजेट खर्च भएको बताएको हो ।
गएको वर्ष कृषि ज्ञान केन्द्रमार्फत जिल्लामा कुल सात करोड ५१ लाख रुपैयाँको लागतमा कृषिसम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन भएको थियो । गण्डकी प्रदेश सरकार तथा सङ्घीय सरकारको आर्थिक सहयोगमा कृषि ज्ञान केन्द्रले कृषकलक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ । गतवर्ष प्रदेश सरकारको आर्थिक सहयोगमा कुल पाँच करोड ६२ लाख रुपैयाँको लागतमा कृषिका कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।


यसैगरी सङ्घीय सरकारको दुई करोड २९ लाख रुपैयाँको लगानीमा कृषिसम्बन्धी विभिन्न कार्यक्रमहरु पनि कृषकलाई लक्षित गरेर सञ्चालन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । पत्रकार महासंघको समन्वयमा महासंघकै कार्यालयमा भएको कार्यक्रममाथि सहजीकरण गर्दै ज्ञान केन्द्रका प्रमुख गोविन्दराज कोईरालाले गतवर्ष समग्रमा कुल बजेटको ८० प्रतिशत रकम खर्च गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममार्फत गतवर्ष बेनी नगरपालिका ३ भकिम्लीमा किबी खेती कार्यक्रम सञ्चालन गरिएको छ भने भकिम्लीकै मुसुङडोलेमा १ सय ५० रोपनीको जग्गामा आलु खेती गरी उत्पादित आलु पोखरासम्म निर्यात भएको छ । त्यस्तै रघुगंगा गाउँपालिका ६ ठाडाखानीमा पनि आलु खेतीलाई प्रोत्साहन गरिएको छ भने ८ नम्बर वडा कुईनेमङ्गलेमा आलु सङ्कलन गर्न भवन निर्माण गरिएको छ ।


बेनी ३ भकिम्ली, ४ सिङ्गा, ९ घतान र मालिका ६ दरबाङमा कागतीलगायत फलफुल खेती लगाइएको छ । गतवर्ष जिल्लाभर बाँझो रहेको २ सय रोपनी जग्गाको सदुपयोग गरी सुन्तला, ओखर, आलुलगायत खेतीको सुरुवात गरिएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो । उहाँका अनुसार भकारो सुधार तथा कार्यालय परिसरमा मौरीघार प्रदर्शन समेत गरिएको छ ।
गतवर्ष सुन्तलामा देखिएको औंसा किराको प्रकोप नियन्त्रण गर्न झरेका फल सङ्कलन गर्नुका साथै मंगला ५ अर्मनलगायत क्षेत्रमा औंसा किरा नियन्त्रणमा खाद्यपासो (प्रोटिन बेड) थापिएको थियो । त्यसैगरी बेनी नगरपालिका र मालिका गाउँपालिकामा सुन्तला खेती कार्यक्रमलाई प्रोत्साहन गरिएको छ भने मंगला, रघुगंगा र अन्नपूर्णमा आलु खेती विस्तारलाई जोड दिइएको छ ।
व्यावसायिक तरकारी खेती विस्तार तथा उत्पादन वृद्धि गर्नका लागि गतवर्ष जिल्लाको विभिन्न ठाउँका कृषकहरुलाई लक्षित गरेर प्लाष्टिक घरहरु निर्माण गरिएका छन् । कृषि ज्ञान केन्द्रले कृषकहरुलाई विभिन्न कार्यक्रमअन्तर्गत कुल २ सय १८ वटा मिनी टेलर अर्थात् खेत जोत्ने (ट्याक्टर) वितरण गरेको छ । यस्तै १ सय ४० वटा मौरी र गोलासहित मौरीघार पनि कृषकलाई वितरण गरिएको कृषि प्रसार अधिकृत पाण्डेले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले माटो परीक्षण गरेर कृषि उत्पादनलाई जोड दिनुपर्ने बताउनुभएको थियो ।

You can share this post!

दानाका सुत्केरी र गर्भवतीलाइ मासु र अण्डा वितरण

गलेश्वरपारी सडक खुलाउन वेवास्ता गरेपछी निमार्ण कम्पनीका इन्जीनियर र सुपरभाईज प्रहरी खोरमा

Related posts