म्याग्दी । बेनी नगरपालिका–९ गलेश्वरमा डेङ्गु रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम र सरसफाई कार्यक्रम गरिएको छ । गलेश्वरधाम आमा समूहको आयोजनामा शनिवार गलेश्वर बजार क्षेत्रभित्र डेङ्गुका लामखुट्टे रहने सम्भावित स्थानहरुमा सरसफाई गरिएको हो ।
गलेश्वर आमा समुह, स्थानीयबासी, सशस्त्र प्रहरी गुल्म, गलेश्वर प्रहरी चौकी लगायतका विभिन्न संघ संस्थाका करिब १५० जना सहभागी टोलीले बजार क्षेत्रको सरसफाई गरेका थिए ।
उक्त अवसरमा स्वास्थ्यकर्मी शिव प्रसाद पाण्डेले डेङ्गु लाग्ने कारण, बच्ने उपाय र नियन्त्रणका उपायहरुको बारेमा जानकारी गराउनुभएको थियो । पछिल्लो समय डेङ्गुको संक्रमण बढ्दै गएको कारण सरसफाई र सचेतनामुलक कार्यक्रम गरिएको गलेश्वरधाम आमा समूहका उपाध्यक्ष विन्दु कार्की पुर्जाले जानकारी दिनुभयो ।