मोना अस्ट्रेलियाद्वारा जिल्लाका पर्यटकीय स्थलको फोटो प्रदर्शनी तथा पुरस्कार वितरण

म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ मोना अस्ट्रेलियाको आयोजनामा ‘नदेखिएको म्याग्दी’ फोटो प्रदर्शनी तथा सम्मान र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रमको जिल्ला समन्वय प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा मोना अस्ट्रेलियाले गत साउन ६ देखि ३० गते सम्म संचालन गरेको फोटो प्रतियोगितामा उत्कृष्ट हुन सफल फोटो ग्राफरहरुलाई पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा अन्नपूर्ण आधार शिविरमा पर्ने फुतफुते झरनाको फोटो सहभागी गराई प्रथम हुन सफल अन्नपूर्ण गाउँपालिका ५ शिखका सुरेन गुरुङलाई नगद रु २० हजार र ट्रफिले पुरस्कृत गरिएको छ भने द्वितिय हुन सफल बेनी नगरपालिका ५ निवासी अनुप बानियाँले नगद रु १० हजार र ट्रफि प्राप्त गर्नुभएको छ ।

तृतिय हुनु भएका रघुगंगा ३ पिप्लेका भविन्द्र शाही र शान्त्वना हुनुभएका बेनी नगरपालिका ७ की रेन्जिसा श्रेष्ठले क्रमस ५ हजार र ३ हजार पुरस्कार प्राप्त गर्नुभएको छ ।

विजेताहरुलाई जिल्ला समन्वय समितिका प्रमुख राज कुमार थापा, बेनी नगरपालिका प्रमुख सुरत केसी, मोना अन्तराष्ट्रियका सचिव सुवोध वरुवाल, मोना अस्ट्रेलिया अक्षयकोषका संरक्षक दिपु श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा एसईई परिक्षामा जिल्ला प्रथम हुन सफल समिर सुवेदीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा म्याग्दी जिल्लाका विभिन्न धार्मिक, सांस्कृतिक सम्पदाहरु, पर्यटकीय स्थल तथा कला संस्कृति र मौलिकता झल्किने ४८ वटा फोटोहरु प्रदर्शनमा राखिएको थियो । फोटो प्रर्दशनीलाई नेपाल जेसिज क्षेत्र (ख) सम्मेलनमा सहभागी हुन बेनी आउनुभएका विभिन्न जिल्लाका जेसिज सदस्यहरुले समेत अवलोकन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समन्वय प्रमुख थापाले प्रदर्शनीमा राखिएका ४८ वटा फोटोहरुले म्याग्दीलाई चिन्न र बुझ्न सहज भएको बताउनुभयो । ‘म कार्यक्रमको सिलसिलामा म्याग्दीका ४५ वटै वडाका बस्तीमा पुगेपनि महत्वपूर्ण स्थानहरु भएको थाहा थिएन, तर मोनाको फोटो प्रतियोगिताले जिल्लाका कुना कन्दरामा ओझेलमा परेका पर्यटकीय स्थलहरुलाई चिनाउन सफल भएको छ’, समन्वय प्रमुख थापाले भन्नुभयो ।

पर्यटन विकास तथा समृद्ध म्याग्दी बनाउनका लागि सवै स्थानीय सरकारहरु गम्भिर भएर लाग्नु पर्ने, आफ्नो पालिकामा भएका धार्मिक तथा पर्यटकीय स्थलहरुमा पूर्वाधार विकास, प्रचार प्रसार र सुरक्षाको प्रवन्ध गर्ने जस्ता कार्यमा पालिका प्रमुखहरु जिम्मेवार भएर लाग्न उहाँको सुझाव थियो ।

बेनी नगरपालिका प्रमुख सुरत केसीले जिल्लाको सुन्दरतालाई उजागर गरि पर्यटन प्रवद्र्धनमा जोड दिन सवै एक भएर लाग्नुपर्ने बताउनुभयो । जिल्ला भित्रका धार्मिक तथा पर्यटकीय स्थलहरुको संरक्षण तथा प्रचारप्रसारमा नगरले खेल्ने भुमिकामा कुनै कमि नहुने समेत बताउनुभयो ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुन, मालिका गाउँपालिका अध्यक्ष वेग प्रसाद गर्वुजा, धवलागिरी गाउँपालिका अध्यक्ष प्रेम पुन, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवाल, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल लगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

मोना अस्ट्रेलिया अक्षयकोषका संरक्षक दिपु श्रेष्ठको अध्यक्षता र राजेन्द्र कुमार श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । जिल्लाको पर्यटन प्रवद्र्धनका लागि फोटो प्रतियोगितालाई आगामी दिनमा पनि अझै परिस्कृति ढंगबाट संचालन गरिने मोना अस्ट्रेलियाका अध्यक्ष ईन्द्र थापा मगरको भनाई छ ।

You can share this post!

नेपाल जेसिजको क्षेत्र (ख) सम्मेलनः म्याग्दीबासीको सांस्कृतिक स्वागत

दोवामा माओवादीको वडा कमिटि गठन

Related posts