म्याग्दी । घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाईते भएकी म्याग्दीको मालिका गाउँपालिका–३ रुमकी तमकुमारी पुन रोकाको उपचारमा आर्थिक समस्या देखिएपछि आइसियूबाट जनरल वार्डमा सारिएको छ ।
गत बैशाख २६ गते दिउँसो ४ बजे तिरको समयमा घाँस काट्ने क्रममा चिप्लिएर करिब ३० मिटर तल झरेकी तमकुमारीको शरीर र टाउकोमा गम्भीर चोट लागेपछिपोखराको गण्डकी मेडिकल कलेजमा बैशाख २७ गते भर्ना भएकी बिरामीले पैसा तिर्न नसकेपछि आइसियूबाट जनरल वार्डमा सारिएको तमकुमारीका श्रीमान बिकल रोकाले बताउनुभयो ।
‘श्रीमतीलाई आवश्यक पर्ने खर्च जुटाउनै सकेको छैन्,‘ आर्थिक अभावले धेरै समस्या भएको छ’ श्रीमान रोकाले भन्नुभयो। आइसियूमा लाग्ने खर्च जुटाउन नसकेपछि जनरल वार्डमा राखिएको उहाँले बताउनुभयो । उहाँले उपचारमा आवश्यक पर्ने औषधी समेत किन्न नसकेको बताउनुभयो ।
श्रीमतीलाई झन् गाह्रो भएको छ, आइसियुमा राखेर उपचार गर्ने पैसा भएन, रोकले निरास हुँदै भन्नुभयो। कृषि पेशामा संलग्न बिकलको एउटा छोरा र ८ महिनाको छोरी छन् । उपचारमा आर्थिक समस्याका बारेमा जानकारी पाएपछि अन्य विरामीले संकलन गरी १३ हजार हस्तान्तरण गरेका थिए । घाईते तमकुमारीको न्युरो सर्जरी गर्नुपर्ने चिकित्सकले सुझाव दिएपनि आर्थिक अभावका कारण रोकिएपछि सहयोगको याचना गरिएको छ ।
सहयोग र जानकारी का लागी
फोन नम्बर– ९८६६१३८२४०
–९८६६०६८५६४