दिदीबहिनी सहकारीको ११ औँ साधारणसभाः महिलाहरु उद्यमशिल बन्नुपर्नेमा उपमेयर लामिछानेको जोड

म्याग्दी । म्याग्दीको बेनीमा महिलाहरुद्वारा मात्रै संचालनमा रहेको दिदीबहिनी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडको ११ औँ वार्षिक साधारण सभा बेनीमा सम्पन्न भएको छ । शनिबार बेनीमा आयोजित साधारणसभाको उद्घाटन गर्नुहुँदै बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले महिलाहरु उद्यमशिल बन्नु पर्ने बताउनुभएको छ ।

महिला दिदीबहिनीहरु कुनै न कुनै सिप, कला तथा व्यवसायको माध्यमबाट उद्यमशिल बनी आफ्नो सुन्दर भविस्यको रेखा कोर्न सक्षम हुनुपर्ने र यसका लागि नगरपालिकाले पनि आवश्यक कार्यक्रमहरु संचालन गर्ने योजना बनाएको उपप्रमुख लामिछानेको भनाई थियो ।

सहकारीका निवर्तमान अध्यक्ष समेत रहनुभएका लामिछानेले महिलाहरुलाई उद्यमशिल बनाउनका लागि सहकारीले सघाउँदै आएको बताउनुभयो । उहाँले सवै शेयर सदस्यहरुलाई सहकारीमा कारोवार गर्न र संस्थाको वृद्धि विकासमा अग्रसर हुन समेत आग्रह गर्नुभएको छ ।

संस्थाको प्रगति प्रतिवेदन तथा आर्थिक बर्ष २०७९÷०८० का लागि प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाका सचिव सगम श्रेष्ठले जिल्लाभर छरिएर रहेका दिदीबहिनीहरुको स– साना पूजीलाई संकलन गरि आत्मनिर्भर बनाउने सहयोग पु¥याउने उद्देश्यले २०६८ सालमा स्थापना भएको सहकारीले आशातित सफलता हासिल गर्दै गईरहेको बताउनुभयो ।

उहाँले सहकारीले मुठ्ठीदान मार्फत गरिव विपन्नलाई राहत तथा प्राकृतिक प्रकोपहरुमा सहयोग, शेयर सदस्यभित्र सुत्केरी कोशेली, दम्पत्ती सम्मान, एकल महिला प्रोत्साहन, महिलाहरुको सिप तथा क्षमता अभिवृद्धिका तालिम संचालन, सुलभ कर्जा प्रदान गरि आयआर्जन एवम् जीवनयापनमा सुधार लगायतका कार्यहरु प्रभावकारी ढंगबाट संचालन गर्दै आएको पनि बताउनुभयो ।

त्यस्तै आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष जगत कुमारी खत्रीले हाल सम्म संस्थाको कुल शेयर पूँजी ४ करोड १२ लाख २३ हजार ८ सय रुपैयाँ रहेको जानकारी गराउनुभएको छ । संस्थाले हाल सम्म ११ करोड ३० लाख ६१ हजार ७ सय २७ रुपैयाँ लगानी गरेको र ८ करोड ६९ लाख ४५ हजार ९८ रुपैयाँ बचत गरेको कोषाध्यक्ष खत्रीद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । संस्थाले आर्थिक बर्ष २०७८÷०७९ मा मात्रै कुल १ करोड २६ लाख ९१ हजार २ सय ६ रुपैयाँ आम्दानी र १ करोड १० लाख ७६ हजार ३५ रुपैयाँ खर्च गरेको कोषाध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

साधारणसभाकै अवसरमा शेयर सदस्यहरुलाई सहकारीको आवश्यकता, महत्व र वित्तीय जनचेतना प्रदान गर्ने उद्देश्यले सहकारीकर्मीको भुमिका, दायित्व र जिम्मेवारी समेतको विषयमा सहकारी प्रशिक्षक नारायण कार्कीले प्रशिक्षण दिनुभएको थियो । साधारणसभाको अवसरमा मुठ्ठीदान मार्फत अशक्त महिला बेनपा –३ की चन्द्रकली विकलाई नगद रु ५ हजार ५ सय ५५ रुपैयाँ र सम्मर बहादुर किसान र कोपीला किसानको परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

त्यस्तै उत्कृष्ट बचतकर्ता, असल क्रृणीकर्ता र असल कारोवार गर्ने शेयर सदस्यहरुलाई सम्मान गरिएको छ । बैकल्पिक उज्यालो विद्यालयबाट एसईई उतिर्ण गरेका सदस्य रेणुदेवी मल्ल र योगमाया शर्मा पौडेल र उत्कृष्ट विद्याथीतर्फ सन्दिप प्रसाद पौडेल र दिपा आचार्यलाई सम्मान गरिएको सचिव श्रेष्ठले जानकारी दिनुभयो । २० जना महिलाहरुलाई एकल महिला प्रोत्साहन स्वरुप नगद सहयोग गरिएको छ भने स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित हुनुभएका संस्थाका शेयर सदस्यहरुलाई पनि सहकारीले सम्मान गरेको छ ।

साधारणसभाको उद्घाटन सत्र संस्थाका कार्यवाहक अध्यक्ष विष्णु गौतम सापकोटाको अध्यक्षता, सह सचिव अम्विका श्रेष्ठको स्वागत र र सचिव सुगम श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो । ११५ जना शेयर सदस्यबाट सुरुभएको सहकारीमा हाल ८४३ सदस्य रहेका छन भने बेनीको गणेशटोलमा आफ्नै भवन निर्माण गरि कार्यालय संचालन गरेको छ ।

You can share this post!

विरौटा खोनेपानी उपभोक्ता समितिको नयाँ नेतृत्व चयन

ब्राह्मण समाज नेपाल म्याग्दीको अध्यक्षमा लिलराम गौतम चयन

Related posts