म्याग्दी । यहि वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा माओवादीको तर्फबाट अध्यक्षको उम्मेदवार बन्नुभएका मिना विश्वकर्मा यतिवेला मतदाताको घरघरमा पुगेर भोट माग्दै हुनुहुन्छ ।
रघुगंगा गाउँपालिका वडा नम्वर ६ फुलडाँडा निवासी २८ बर्षीय विश्वकर्मा आफ्नो २ बर्षको छोरालाई काखमा च्यापेर मतदाताको दैलोमा पुग्दा सवैको माया पाइरहनु भएको छ । माओवादीले गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा अघि सारेपछि उहाँले मंगलबार फुलडाँडाबाट चुनाव प्रचार अभियान सुरु गर्नुभएको थियो । सुरुको दिनमै आफन्त गौ बहादुर विश्वकर्माले खुट्टा ढोगेर बधाई तथा शुभकामा दिएको तस्विर सामाजिक संजालमा भाइरल भएको छ ।
उहाँले प्रत्येक मतदाता समक्ष बोल्ने शव्दले उनिहरुको मन जित्दै गएको छ । “के दलित र गरिव महिला गाउँपालिकाको प्रमुख वस्ने कुर्चिमा बस्न मिल्दैन र ?” विश्वकर्माको यो भनाईले मतदातालाई भावुक बनाउने ताकत राखेको छ ।
खेतबारीको काम गर्दागर्दै माओवादीले दिएको यो अवसरलाई स्वीकार गर्दै धन होइन मन र योजना लिएर रघुगंगाबासीको घरघरमा आएको उहाँ बताउनुहुन्छ । पैसा खर्च गर्न सक्ने मेरो अवस्था छैन, गरिव छु तर हिम्मत र आँट छ, साहस छ अनि काम गर्ने क्षमता र योजना छ, विश्वकर्माले भन्नुभएको छ ।
कति सधै अरुलाई मात्रै ठाउँमा पुराउन भूमिका खेल्ने, अवत हामी आफै त्यो ठाउँमा पुग्न साहस गर्नुपर्छ पैसा हुने र पावर हुनेहरुले मात्रै अवसर पाउनु पर्छ भन्ने छ र, भन्दै विश्वकर्मा चुनावी मैदानमा निस्कनु भएको हो । माओवादीको बिचार र आन्दोलनले जातिय विभेद केही भएको भन्दै अव त्यसलाई पूर्णरुपमा निर्मूल पार्न र उत्पीडनमा परेका वर्गको उत्थानका लागि आफ्नो उम्मेदवारी रहेको उहाँको भनाई छ ।
रघुगंगाका सम्पूर्ण दलितहरु एकजुत हुनुपेर्न अवस्था आएको छ, पालिकामा भएका पच्चिस सय दलित एक हुन सकियोभने हाम्रो जित सुनिस्चित छ, उहाँले भन्नुभयो । बिगतको ५ बर्ष अरुपार्टी र गैरदलितलाई अवसर दिनुभयो, अव यो ५ बर्ष माओवादी पार्टी एउटी दलित महिलालाई अवसर दिनुहोस भन्दै अध्यक्षका उम्मेदवार विश्वकर्माले आफुलाई दिदी वहिनी, छोरी चेली सम्झेर दान स्वरुप भोट दिन अपिल गर्नुभएको छ ।
काखका बच्चा च्यापेर पसिना बगाउँदै रघुगंंगाको विकासका लागि योजना लिएर आएको एउटी नारीको आँट र साहसलाई कदर गरिदिन पनि उहाँले आग्रह गर्नुभएको छ । उहाँले पैसामा नविकी विचार र सिद्धान्त बुझि मतदान गर्नपनि मतदाताहरुलाई अनुरोध गर्नुभएको छ ।
माओवादीको खास एजेन्डा अनुसार विश्वकर्मालाई पालिका अध्यक्षको उम्मेदवार बनाईएको नेकपा माओवादी केन्द्रका पालिका कमिटी अध्यक्ष हरि भण्डारीले बताउनुभएको छ । ‘गरिव, विपन्न र दलित समुदाय, जसलाई राज्यले सधै पछाडि पारेको छ त्यस्ता बर्ग र समुदायलाई अवसर सृजना गरि समान हैसियत र भूमिकामा पु¥याउने पार्टी माओवादी हो त्यसैले हामीले रघुगंगा गाउँपालिकाको अध्यक्षमा एउटी दलित महिलालाई अघि सारेका हौँ’, भण्डारीले भन्नुभयो ।
घरदैलो तथा मतदाता भेटघाट गर्ने चुनावी प्रचार अभियानमा गाउँपालिका नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य विनोद केसी, गाउँपालिका उपाध्यक्षका उम्मेदवार रिम कटुवाल, पालिका कमिटी अध्यक्ष भण्डारी, लगायत वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरु सहभागी हुनुहुन्छ । मिनाका श्रीमान पनि उहाँलाई जिताउन लागि भोट माग्ने अभियानमा सक्रिय हुनुहुन्छ ।