म्याग्दी । म्याग्दीमा बाम–लोकतान्त्रिक गठबन्धन विजयी भएको छ। प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बिर) र प्रदेशसभा सदस्यमा नेकपा माओवादी केन्द्रबाट प्रदेश (क) मा हरि भण्डारी र प्रदेश (ख) मा रेशम जुग्जाली (सुविन) विजयी हुनुभएको छ ।
नेपाली कांग्रेसका सभापति गर्बुजाले नेकपा एमालेका उम्मेदवार हरीकृष्ण श्रेष्ठलाई ३८३२ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको छ । गर्बुजाले २४०२१ र श्रेष्ठले २०१८९ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै प्रदेश क्षेत्र (क) मा नेकपा माओवादी केन्द्रका युवा नेता हरी भण्डारी विजयी हुनुभएको छ । भण्डारीले नेकपा एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाललाई ९७५ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको छ। भण्डारीले १२ हजार ७४० र कटुवालले ११ हजार ७६५ मत प्राप्त गर्नुभएको थियो ।
म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) मा यसअघिनै गठबन्धनबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली (सुविन) ले एमालेका यामबहादुर गर्बुजालाई १०१ मतान्तरले पछि पार्दै निर्वाचित हुनुभएको थियो । जुग्जालीले ९ हजार ४५४ र गर्वुजाले ९ हजार ३५३ मत प्राप्त गर्नुभएको थियो ।
प्रतिनिधि सभामा विजयी गर्बुजा वि.स. २०७० र २०७४ मा एमालेका उम्मेदवारसँग झिनो मतान्तरले पराजित हुनुभएको थियो । तेस्रो पटक प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका गर्बुजालाई नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जनमोर्चाले सर्मथन गरेका थिए ।
यसअघि वि.स. २०५६ मा म्याग्दीमा नेपाली काँग्रेसका उम्मेदवार नारायणसिंह पुनले चुनाव जित्नुभएको थियो । म्याग्दीमा काँग्रेसले २३ वर्षपछि जित निकालेको हो ।
आइतबार भएको मतदानमा ८६ हजार १२० जना मध्य ५० हजार ६२५ अथवा ५८.७८ प्रतिशत मत खसेको थियो । विजयी गर्वुजा, भण्डारी र जुग्जालीलाई बुधबार साँझनै मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद नेपालले निर्वाचित प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।