म्याग्दी । दुख गरे सुख मिल्छ भने जस्तै मेहनतले खुसि दिलाउन थालेको छ पर्वत जलजला ७ केराबारीका खेम केसीलाई ।
आज भन्दा करिव ४ बर्ष अगाडि २०७५ साल फागुन महिनामा बेनी नगरपालिका वडा नम्वर २ खबराबाट प्रति विरुवा ६० रुपैयाँका दरले ४०० वटा केराका बोट लिएर केराखेती सुरु गर्नुभएका केसीको बारीमा अहिले २५ सय भन्दा बढि केराका बोटहरु रहेका छन । केराबारीमा रहेको ३० रोपनी आफ्नै जग्गामा केसीले हजारे, मुग्रे, धुर्से प्रजातिका केरा तथा अन्य फलफुल खेती गर्नुभएको हो ।
एल्भिन फलफुल फर्म दर्ता गरि व्यवसायिक रुपमा केराखेती सुरु गर्नुभएका केसीको फर्ममा हाल कागति, एभोकाडो, अम्वा, आँप, लिचि लगायत गरि ५०० वटा फलफुलका विरुवा हुर्किरहेका छन । मौरी पालन पनि गरेका केसीको फर्ममा ५० वटा मौरीका घार समेत रहेका छन ।
करिव १५ सय केराका बोटले फल दिन थालेको केसीले बताउनुभयो । काँचो केरा बोटबाटै एक दर्जनलाई एक सय रुपैयामा विक्री हुने गरको छ । १५ सय बोटको केराबाट मासिक ५० हजार भन्दा बढि कमाई हुने गरेको कृषक केसीले बताउनुभयो ।
एक घारीमा २ सय देखि २ सय ५० वटा सम्म केरा हुन्छ, अरु सवै केराहरु पनि राम्रो संग सप्रिएका छन, केसीले भन्नुभयो “अघिल्लो बर्षदेखि मासिक ५० हजार त केरा बेचेर मात्रै कमाई भएको छ, साँच्चै भन्नुपर्दा मलाई केराखेती फापेको छ” ।
केरामात्रै होइन केसीको फर्मबाट केराका विरुवा समेत विक्री हुने गरेको छ । यो बर्ष म्याग्दीको राखु, पर्वतको बाँसखर्क, लस्टी लगायतका स्थानमा करिव २ हजार वटा विरुवा प्रति विरुवा १ सयका दरले विक्रि भएको केसीको भनाई छ ।
३ लाख रुपैयाँ लगानीबाट सुरु गर्नुभएको केसीको फर्ममा अहिले १२ लाख लगानी पुगको छ । धानखेती योग्य जमिनमा समेत विचविचमा केरा लगाउनुभएका केसीले केहि पनि उब्जनी नहुने पाखालाई समेत केराबारीमा परिणत गर्नुभएको छ ।
कहिलेकाहीँ परिवार तथा साथीसंगी गएर बस्नका लागि कटेज समेत निर्माण गर्नुभएका केसीको फमर्मा पुग्दा वरिपरिको शान्त र सुन्दर वातावरणले मनलाई आनन्दित तुल्याउने गर्दछ ।
बेनीको कालिपुलमा केवि अटोपार्टस होण्डा स्वरुम समेत संचालन गर्दै आउनुभएका ४६ बर्षीय केसीलाई श्रीमति सपना केसीले पनि कृषि खेतीमा राम्रो साथ दिनुभएको छ । फर्ममा फर्सी, घिरौला, भेन्टा, तितेकरेला, हरियो खुर्सानी लगायत अन्य तरकारीहरु पनि राम्रो संग उत्पादन हुने गरेको छ ।
हिजोआज केसीको धेरैजसो समय पसल तिर ग्राहकहरु संग भन्दा पनि केराबारीको केराहरु संगै वित्ने गरेको छ । केरा पसायो पसाएन, पकाउन राख्ने वा बेच्ने बेला भयो भएन, हेर्नका लागि पनि प्रत्यक दिनजसो केसी केराबारीमा पुग्नुहुन्छ ।
बेनी– पोखरा सडक खण्डको मिलनचोक देखि केही पर बाटो देखि करिव ५०० मिटर माथि रहेका केसीको फर्ममा केराखेती फस्टाउदै गएकाले अझै विस्तार गर्ने योजनामा बनाउनुभएको छ ।
हाल सम्म कतैबाट पनि अनुदान नपाएका केसीले राज्यको अनुदान लिएर काम नगर्नेहरुलाई अनुदान विनानै रहरलाग्दो कृषि उत्पादन गरेर उदाहरणीय बन्नुभएको छ ।
केसीले केरा उत्पादन गरेर बजारको लागि भने कुनै समस्या नरहेको बताउनुभयो । फर्ममा उत्पादन भएजति सवै केरा बेनीमै खपत हुने गरेको र अझै भने जति पु¥याउन नसकिएको बताउनुभयो ।
केराबारीमा केराखेतिको राम्रो सम्भावना रहेकाले अरुलाई पनि त्यसक्षेत्रमा केराखेतीमा प्रोत्साहन गर्नका लागि गाउँपालिकाले केराखेती पकेट क्षेत्र घोषणा गर्नुपर्ने केसीको भनाई छ ।