पोखरा । गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गर्नुभएको हो । अब पुनले सार्वजनिक कार्यक्रममा प्रदेश सभा सदस्यको मर्यादाक्रम पाउनुहुनेछ ।
गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ गते गरिएको थियो । गण्डकी प्रदेशभित्र जन्मिएर गण्डकीकै श्रीवृद्धिका लागि योगदान गरेका विशिष्ट व्यक्तिलाई प्रदेशले गण्डकी रत्नबाट सम्मानको सुरुआत गरेको हो ।
कार्यविधिअनुसार गठित समितिले एकैचोटिमा ३ जनासम्मलाई सम्मानका लागि छनोट गर्न सक्छ । तर, पहिलो पटक भएकाले एक जनालाई मात्र छनोट गरिएको मन्त्री डोबाटे विश्वकर्माले जानकारी दिनुभयो ।
पुरस्कारका लागि गण्डकी प्रदेशका प्रवक्ता तथा भौतिक पूर्वाधार, यातयात व्यवस्थामन्त्री कुमार खड्काको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो । शिक्षा, स्वास्थ्य तथा खेलकुद, कृषि तथा सहकारी, उद्योग पर्यटन, वातावरण, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन, भाषा संस्कृति, सार्वजनिक प्रशासन लगायतका क्षेत्रमा योगदान पु¥याएका व्यक्तिमध्येबाट सम्मान गर्नेगरी कार्यविधि बनाइएको छ ।
कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अनुसन्धानबाट मुलुकलाई समृद्ध बनाउन चालेको कदमको सम्मान गर्दै पुनलाई गण्डकी रत्न प्रदान गरिएको बताउनुभयो । मुख्यमन्त्री पोखरेलले राष्ट्रिय अनुसन्धान केन्द्रको सहकार्यमा अनुसन्धानका लागि आगामी वर्षमा गण्डकी सरकारले १० करोड विनियोजन गरेको जानकारी दिनुभएको छ ।
सम्मानपछि महावीर पुनले अध्ययन अनुसन्धानका लागि पर्याप्त बजेट लगानी गरेका मुलुकहरु समृद्ध भएको उदाहरण पेस गर्नुभयो । उहाँले भन्नुभयो, ‘अनुसन्धानमा बलियो नभएकाले हाम्रो देश हेपिएको हो, युवाहरु रोजगारी खोज्दै विदेश धाउँदा यहाँको अर्थतन्त्र अस्तव्यस्त भएको छ, अनुसन्धान र विकासका लागि अब ढिला गर्न हुँदैन ।’
अनुसन्धान आफैंमा कठीन काम भएको भन्दै उहाँले १ सय वटा अनुसन्धानमध्ये १०÷१५ वटा मात्र सफल हुने भएकाले शतप्रतिशत नतिजा आउन नसक्ने भनाइ राख्नुभयो । ‘हाम्रो बजेट सिष्टमले असफल भएको कार्यक्रमलाई रकम दिन नमिल्ने भन्छन्, तर सबै अनुसन्धान सफल नै हुन्छन् भन्ने छैन,’ उहाँले भन्नुभयो ।
गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयमार्फत आविष्कार केन्द्र खोलेकामा आफू उत्साही भएको पुनले बताउनुभयो । गण्डकीमा आविश्कार केन्द्र खुलेकै कारण आफूले यो सम्मान लिन तयार भएको पनि पुनले खुलाउनुभयो ।
विज्ञान, प्रविधि, सूचना एवं वायरलेस प्रविधिबाट ग्रामीण क्षेत्रमा इन्टरनेट सूचना प्रवाह गर्दै आएका पुन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाँगीमा २०११ सालमा जन्मीनुभएको हो । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुन बायोमेडिकल, कृषि, शिक्षा, ड्रोनलगायत क्षेत्रमा कार्य गर्दै आउनुभएको छ । पुन रोमन म्यागासेसे पुरस्कारबाट सम्मानित व्यक्ति हुनुहुनछ ।
गण्डकी रत्नबाट विभूषित व्यक्तिका लागि सार्वजनिक कार्यक्रममा प्रदेशसभाका सदस्य सरहको मर्यादाक्रम निर्धारण गरिएको छ । प्रदेशभित्रका सरकारी अस्पतालमा निशुल्क उपचार, विमानस्थलको भीआईपी कक्ष उपयोग, सरकारले सञ्चालन गरेको सार्वजनिक सेवाका लागि विशेष प्राथमिकता र संरक्षणविहीन भएमा सरकारले नै जिम्मा लिने गरी कार्यविधि बनाइएको छ ।
अनलाइन खवरबाट