बरंजाका मेहनती रेशमको रहरलाग्दो नर्सरीः४० हजार सुन्तलाको विरुवा तयारी

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्वर ४ बरंजाका कुषक रेशम बुढाथोकीको नर्सरीमा अहिले ४० हजार सुन्तलाका विरुवा तयारी भएका छन । आरकुली स्थित आफ्नै घरछेउँमा रहेको साढे १ रोपनीको जग्गामा बुढाथोकीले नर्सरी संचालन गर्नुभएको छ ।

१८ महिनाका २५ हजार र ३२ महिनाका करिव १५ हजार विरुवा विक्रीका लागि तयारी भएको बुढाथोकीले बताउनुभएको छ । उहाँको नर्सरीमा लोकल बाँसखर्क जातको सुन्तलाका विरुवा छन । नर्सरीमा उत्पादन गरिएका सुन्तलाका विरुवाको परिक्षण ( पिसिआर) पनि गरिएको छ । क्षेत्रिय कृषि अनुसन्धान केन्द्र लुम्लेबाट बिज्ञको टोली ल्याई परिक्षण गर्दा विरुवामा कुनै प्रकारको रोग नदेखिएको उहाँले बताउनुभयो ।

१६३० मिटरको उचाईमा उत्पादन गरिएको विरुवा भएकाले उत्पादन राम्रो दिने उहाँको भनाई छ । जिल्ला तथा आसपासका कृषकहरुलाई नर्सरीमा आई विरुवा खरिद गरि व्यवसायिक सुन्तला खेति गर्न बुढाथोकीले अनुरोध गर्नुभएको छ ।

२०६९ साल देखि व्यवसायिक कृषि पेशा अंगालेका बुढाथोकीको नर्सरीमा हाल सुन्तला संगै ओखरका विरुवा १२ सय, कागतिका विरुवा ४ हजार, टिमुरका विरुवा ४ हजार डालेघाँस लगायतका विरुवाहरु तयारी अवस्थामा रहेका छन ।

यसवाहेक ८४ वटा किवीका बोटहरुले अघिल्लो बर्षदेखि उत्पादन दिन सुरु गरेका छन । बरंजा नर्सरी तथा पशुपंक्षी पालन फर्म दर्ता गरि व्यवसायिक कृषिमा पेशामा लागेका बुढाथोकीको नर्सरीमा हाल सम्म करिव ४० लाख रुपैयाँ लगानी पुगको छ । गत आर्थिक बर्षमा कृषि ज्ञान केन्द्र बेनीबाट प्राप्त ५ लाख अनुदानले २ वटा ग्रीन हाउस निर्माण गरेको बुढाथोकीले बताउनुभयो ।

त्यस्तै क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेबाट रु २ लाख ५० हजार बराबरको कृषि सामग्री सहयोग प्राप्त भएको उहाँको भनाई छ । तयारी भएका सुन्तलाको विरुवाको बजारमा भने समस्या भएको छ ।

‘करिव १५ हजार सुन्तलाका विरुवा गतसालकै छन, यी सवै पोहोरनै विक्री भईसक्नुपर्ने थियो, तर अहिले सम्म पनि कोही खोज्न आएका छैनन’, वुढाथोकीले भन्नुभयो, “वडा, पालिका तथा अन्य कार्यालयले जिल्ला बाहिरबाट सस्तोमा विरुवा लिएर वितरण गर्दा म लगायत यहाँका नर्सरी कृषकहरु प्रत्यक्ष मारमा परेका छौँ” ।

स्थानीय कृषकका उत्पादनलाई प्राथमिकता दिन उहाँले अनुरोध समेत गर्नुभएको छ । नर्सरीमा विरुवा उत्पादन गर्न निकै मेहनत गर्नुपर्ने उहाँको अनुभव छ । दैनिक ३ पटक अनिवार्य रुपमा नर्सरीमा पुगी विरुवाको मलजल, गोडमेल सहित पानीको व्यवस्था, गर्नुपर्ने उहाँको भनाई छ ।

बुढाथोकीले नर्सरीबाट बार्षिक रुपमा ५ लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ । यसका अलवा उहाँले बाख्रा र माछा पनि पाल्दै आउनुभएको छ । बाख्रापालनबाट पनि राम्रो आम्दानी भईरहेको छ ।
कुषि व्यवसायमा उहाँलाई श्रीमति गौमति वुढाथोकीले पनि राम्रो साथ दिनुभएको छ ।

हाल नर्सरीमा श्रीमान श्रीमतिले मात्रै काम गर्दै आउनुभएको छ । आगामी दिनमा गाउँका केही युवाहरुलाई रोजगारीको व्यवस्था गरि नर्सरीलाई अझै बढाउँदै लैजाने बुढाथोकीको योजना रहेको छ ।

You can share this post!

आज गणतन्त्र दिवस

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

Related posts