म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बेनी नगरपालिका ५ को वडा अध्यक्षको उम्मेदवारमा गोविन्द बानियाँ चयन हुनुभएको छ ।
सोमबार सम्पन्न वडा कमिटीको बैठकले बानियाँलाई वडा अध्यक्षको उम्मेदवार सर्वसम्मत रुपमा चयन गरेको हो । बानियाँ हाल नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य हुनुहुन्छ ।
२०४२ सालमा अनेरास्ववियु एकता पाँचौंको सदस्यता लिनुभई पौलस्त्य मावि भिरमुनीको कक्षा ८ को प्रारम्भिक कमिटीको उपाध्यक्ष हुँदै बिद्यार्थी राजनीति सुरु गर्नुभएका बानियाँ त्यस यता निरन्तर एमालेको राजनीतिमा सक्रिय हुनुहुन्छ ।
हाल थुप्रै संस्थामा आवद्ध रहि सामाजिक गतिविधिहरुमा क्रियाशिल उच्च छवि भएका बानियाँ सरल स्वाभाव र मिलनसार व्यक्ति हुनुहुन्छ । सवैसंग सुमधुर सम्वन्ध राख्ने व्यक्तित्वले उहाँ पुलाचौरमा लोकप्रीय हुनुहुन्छ ।
जीवनयात्राको केहि बर्ष कोरीया बिताउनुभएका बानियाँ बिदेशमा हुने विकासको अवस्थाको बारेमा समेत जानकार हुनुहुन्छ । समाजसेवा, जनताको सेवामा आफुलाई समर्पित बनाउनका लागि वडा अध्यक्ष पदमा उम्मेदवार दिएको उहाँले बताउनुभएको छ ।
बेनपा ५ को धार्मिक, पर्यटन, शिक्षा, कृषि लगायतका क्षेत्रमा देखिएको सम्भावनालाई उजागर गर्दै समृद्ध गाउँ निर्माण गर्ने योजना बानियाँको रहेको छ । उहाँले जनताको हरेक दुख र समस्यामा सेवा गर्ने अठोट लिएको बताउनुभयो ।
अन्य सदस्यहरु पनि छिट्टै टुङ्गो लगाएर चुनावी अभियानमा जनताको घरघरमा पुग्ने नेकपा एमाले वडा कमिटी अध्यक्ष दिनेश कार्कीले बताउनुभयो । तीन मतदान स्थल र चार मनदान केन्द्र रहेको बेनपा ५ मा दुई हजार ७३७ मतदाता रहेका छन । यस अघिको निर्वाचनमा पनि बेनपा ५ मा एमालेले जितेको थियो ।