माओवादीद्वारा बेनीको मेयर र उपमेयरको उम्मेदवार सिफारिस

बेनी । नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार सिफारिस गरेको छ ।

बेनीमा आइतबार बसेको बेनी नगर कमिटिको बैठकले मेयरमा सेरबहादुर केसी र धनलाल जैसी, उपमेयरमा ज्योती लामिछाने पौडेलको नाम प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।

माओवादीका प्रदेश कमिटी सदस्य बिनोद केसीले मेयरमा दावी गरेका दुई जना र उपमेयरमा पौडेलको एकल नाम सिफारिस गरिएको जानकारी दिनुभयो । बैशाख ३० गते हुन लागेको चुनावमा तालमेलको सैद्धान्तिक सहमति गरेको सत्ता साझेदार पाँच दलीय गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेसले गत शुक्रबार बेनीको मेयरमा चिरञ्जीवि शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

माओवादीका बेनी नगर इञ्चार्ज समेत रहेका केसी गठबन्धनभित्र तालमेलको प्रयास भएपनि समय घर्किसकेकाले तालमेल नभएको अवस्थाको पनि आँकलन गरेर उम्मेदवार सिफारिस गरिएको बताउनुभयो ।

मेयरमा सिफारिस भएका केसी माओवादीको बेनी नगर अध्यक्ष र जिल्ला समन्वय समितिका सदस्य हुनुहुन्छ । गत निर्वाचनमा बेनी नगरपालिकामा माओवादीको उम्मेदवार भएर जितेका केसी एक्लो हुनुहुन्थ्यो । बेनी नगरपालिका–७ शान्तिटोल निवासी केसी राजनीतिका साथै सहकारी लगायत सामाजिक संघ संस्थामा आवद्ध हुनुहुन्छ ।

माओवादीबाट मेयरका दावेदार बेनपा ३ भकिम्ली निवासी जैसी माओवादीको श्रम तथा वैदेशिक रोजगार विभागको केन्द्रिय सदस्य, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र नेपाल केन्द्रिय मह व्यवसायी संघको अध्यक्ष हुनुहुन्छ ।

उपमेयरको उम्मेदवारमा सर्वसम्मत सिफारिस हुनुभएकी पौडेल अनेमसंघ क्रान्तिकारीको जिल्ला अध्यक्ष हुनुहुन्छ । उहाँ गत चुनावमा उपमेयरमा झिनो मतान्तरले पराजित हुनुभएको थियो । सहकारी र सामाजिक संघ संस्थामा सक्रीय बेनपा–७ कुरीलाखर्क निवासी पौडेल माओवादीमा युवा र महिला नेताको रुपमा स्थापित हुनुहुन्छ ।

 

You can share this post!

दुरलेक पर्यटकको पखाईमा

स्याङ्जामा जीप दुर्घटनाः ५ जनाको मृत्यु, ६ जना घाइते

Related posts