धवलागिरीको बिशेष गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको आइतबार मुनामा भएको विशेष गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन भएको छ ।

गाउँपालिका अध्यक्ष थमसरा पुनले सभामा पेश गर्नुभएको प्रस्ताव छलफल पछि पारित भएको हो । धवलागिरी गाउँपालिकाको शिक्षा ऐन–२०७६ र योजनाको नाम तथा बजेट संसोधन गर्ने प्रस्ताव पारित भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत पुर्णबहादुर खत्रीले गाउँपालिकाका स्वास्थ्य संस्थाबाट निशूल्क वितरण गरिने औषधीको दररेट स्विकृत र मतगणना स्थलमा भिडियो मार्फत निगरानी गर्ने उपकरण ( भोट काउन्टीङ भिडियो म्यानेजमेन्ट सिस्टम) खरिद गर्ने निर्णय पनि गरेको जानकारी दिनुभयो ।

निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको लागि सवै स्थानीय तहमा भिडियो प्रणाली जडान गर्न पत्राचार गरेको थियो । सो उपकरणका लागि रु. चार लाख बजेट बिनियोजन भएको छ । सात वटा शिर्षकको रु. सत्र लाख पचास हजार बजेटको शिर्षक संसोधन भएको छ ।


२२ वटा योजनाका लागि शिर्षकान्तर गरेर थप रु. पचास लाख पाँच हजार बजेट बिनियोजन भएको छ । गाउँसभाले मुनाको धवलागिरी आधारभूत विद्यालयमा कक्षा ९ सञ्चालन गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।

माविको हकमा रु. पैतिस लाख र आधारभूत तहको हकमा रु. पच्चिस लाख प्रदान गर्ने व्यक्तिको नाममा विद्यालयको नाम राख्न र परिवर्तन गर्न पाउने व्यवस्था संसोधित शिक्षा ऐनमा गरिएको छ ।

गाउँसभामा उपाध्यक्ष रेशम छन्त्यालले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । गाउँसभा सदस्यहरु कलानिधी शर्मा, राजाराम सुवेदी, झकबहादुर छन्त्याल लगायतले छलफलमा भाग लिनुभएको थियो ।

 

You can share this post!

सेञ्चुरी बैंकको बित्तिय सारक्षता कार्यक्रम

प्रमुख पदमा चुनाव लड्न महिलाहरु सक्षम छौँः अनेमसंघ म्याग्दी

Related posts