नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बेनी नगर कमिटीको हिँजो (बुधबार) सदरमुकाम बेनीमा सम्पन्न प्रथम नगर अधिवेशनबाट राजकुमार राईको अध्यक्षतामा ९ सदस्यीय कमिटी निर्वाचित भएको छ । नगर कमिटीको उपाध्यक्षमा लङ्कमान तामाङ, सचिवमा अर्जुन राना र सहसचिवमा निकेश श्रेष्ठ चयन हुनुभएको हो ।
यसैगरी सदस्यहरुमा महेश राई, जनमाया छन्त्याल, मेउची पुन, गुमा किसान र टिकाराम शर्मा निर्वाचित हुनुभएको जिफन्ट म्याग्दीले जनाएको छ । अधिवेशनको उद्घाटन गर्दै नेकपा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले एमाले सरकारमा रहँदा श्रमजीवी मजदुरहरुको हकहितका लागि थुप्रै कामहरु गरेको बताउनुभयो ।
उहाँले श्रमजीवी र मजदुरहरुको स्थायी व्यवस्थापन र समस्या समाधान गर्ने पार्टी एमाले भएको बताउँदै सबै क्षेत्रमा क्रियाशील मजदुरहरु एमालेको जनवर्गीय सङ्गठन जिफन्टमा आबद्ध हुनुपर्ने बताउनुभयो ।
सोही अधिवेशनलाई सम्बोधन गर्दै जिफन्ट गण्डकी प्रदेशका उपाध्यक्ष नन्दलाल अधिकारी र सचिव लिलाबहादुर कार्कीले अटोपाटर्स, घर तथा यातायातलगायत अन्य क्षेत्रमा काम गर्ने श्रमिक मजदुरलाई पनि जिफन्टको घटक सङ्गठनहरुमा आबद्ध गराउनुपर्नेमा जोड दिनुभयो । मजदुरका नेताद्वयले देश श्रमजीवी मजदुरहरुको परिश्रम र मेहनतविना निर्माण हुन नसक्ने बताउँदै मजदुरमैत्री नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने माग गर्नुभयो । नेकपा एमाले म्याग्दीका उपसचिव एवं धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले मजदुरहरुको बीमाको साथै हकहित र पेशागत सुरक्षाका लागि पालिकामार्फत आवश्यक पहल थालिएको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल म्याग्दीका संयोजक शिशिर शाही, प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रताप बानियाँ र जिफन्टका निवर्तमान जिल्ला सचिव खेमराज सुवेदीले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम जिफन्ट नगर कमिटीका निवर्तमान अध्यक्ष बलादेवी राईको अध्यक्षता, उपाध्यक्ष राजकुमार राईको स्वागत र कार्यवाहक सचिव अर्जुन रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।