थासाङ गाउँपालिका–३ लेते कालोपानीका ६८ वर्षीय नरसिंह शेरचनलाई नेपाली कांग्रेस मुस्ताङका सभापति एवम् पूर्व मन्त्री रोमी गौचन थकालीले कुटपिट तथा अभद्र व्यवहार गर्ने धम्की दिएपछि पीडितले आरोपितविरुद्ध जिल्ला प्रशासन कार्यालय मुस्ताङमा पुस ११ गते उजुरी दिएका छन् ।
पीडितलाई आरोपितले आफू र अन्य गाउँलेहरुलाई अभद्र व्यवहार गर्ने र कुटपिटको मनसायले आक्रामक हुने गरेको भन्दै आफ्नो जिउ धनको सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङमा उजुरी दिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।
गाउँमा भएको बैठकमा आफ्नो पार्टीका कार्यकर्ताहरुलाई एमाले प्रवेश गराएर गाउँमा अराजकता फैलाएको आरोप लगाउँदै कुटपिट गर्ने मनसायले आफूमाथि जाइ लागेको भए पनि आफूले संयमता अपनाएर त्यस बखत जोगिएको भएपनि, अन्य कुनै पनि समय पुन यस्ता घटना हुन सक्ने र आफ्नो जिउधनलाई क्षति पुग्न सक्ने भन्दै उजुरी दिएको उहाँले बताउनुभयो ।
कांग्रेस सभापति गौचनले मुस्ताङको लेतेमा रहेको धौलागिरी प्राविधिक शिक्षालयका प्रधानाध्यापकलाई समेत २०७८ असोज २० गते कालोपानी गेष्ट हाउसमा बोलाएर आफूले भने जसरी काम गर्न दबाब दिएको समेत नरसिंह शेरचनले प्रशासनमा दिएको उजुरीमा उल्लेख छ ।उजुरी परेपछि समस्या समाधानको प्रयास भइरहेको प्रजिअ शर्माले बताउनुभयो ।