काठमाडौं । यसै साता बंगलादेशमा सुरु हुने एसियन सिनियर सेन्ट्रल जोन मेन्स भलिबल च्यालेन्ज कपमा नेपालको पुरुष टिमले पदक छुने लक्ष्य राखेको छ । महिला टोलीले भने यसपटक उपाधि रक्षा गर्ने लक्ष्य लिएको छ ।
सन् २०१७ मा माल्दिभ्समा भएको तेस्रो संस्करणको सेन्ट्रल जोनमा तेस्रो हुँदै ऐतिहासिक पदक जितेको पुरुष टोलीले त्यसपछिका दुई संस्करणमा सुखद नतिजा ल्याउन सकेको थिएन ।
कोभिड महामारीले गर्दा दुई वर्षपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको पुरुष भलिबल टोली यस पटक मेडल भित्राउने लक्ष्यसहित बंगलादेश जाँदैछ ।
मुख्य प्रशिक्षक हान अबिङको नेतृत्वमा करिब एक महिना प्रशिक्षण पश्चात नै नेपालले ठूलो प्रतियोगिता खेल्न लागेको हो । यसअघि पाँचवटै संस्करण खेलेका कप्तान इम राना मगरले दुई टिमलाई हराउन सके मेडल आउने बताए । ‘छोटो समयमा पनि राम्रै तयारी भएको छ । यस पटक टिमहरु थोरै छन् ।
बलियो टिम भनेका श्रीलंका र उज्वेकिस्तान हुन् । बंगलादेश, माल्दिभ्स र नेपाल उस्तै हुन् । बंगलादेश र माल्दिभ्सलाई हराए हामी एउटा मेडल छुन सक्छौं,’ आइतबार बिदाई कार्यक्रमपछि इमले भने, ‘बाँकी दुई टिम श्रीलंका र उज्वेकिस्तानसँग पहिला पनि खेलेकाले हामी राम्रो फाइट गर्छौं ।’ छोटो समयको तयारीको बाबजुत पनि नेपालले मेडल छुने सम्भावना रहेको कप्तान इमले दोहोर्याए ।
यस्तै तीन वर्षपछि राष्ट्रिय टिममा कमब्याक गरेका मान बहादुर श्रेष्ठले पनि यस पटक मेडल छुने लक्ष्यसहित प्रतिस्पर्धा गर्ने बताए । श्रेष्ठले उज्वेकिस्तान बाहेक टिमसँग आफूले खेलिसकेको अनुभव भएकाले धेरै प्रेसर भने नलिएको बताए ।
नेपाल भलिबलमा पछिल्लो समय चर्चित रहेका मान बहादुरले दुई वर्ष नेपालमै भएको सेन्ट्रल जोन भलिबल र १३ औं साग खेल्न पाएनन् । विभागीय कारबाहीमा परेर आठौं राष्ट्रिय खेलकुद खेल्न नपाएका उनले राष्ट्रिय टिमबाट दुई प्रतियोगिता गुमाए ।
नेपालले डिसेम्बर २३ मा उज्वेकिस्तानसँग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ । दोस्रो खेल घरेलु टोेली बंगलादेशसँग डिसेम्बर २४ र तेस्रो खेल माल्दिभ्ससँग डिसेम्बर २५ मा खेल्नेछ । ५ राष्ट्र सहभागी प्रतियोगितामा लिगको अन्तिम खेल नेपालले डिसेम्बर २६ मा श्रीलंकासँग खेल्नेछ ।
पुरुष भलिबल टोलीसँगै महिला टोली पनि सेन्ट्रल जोन प्रतियोगिता खेल्न बंगलादेश जाँदैछ । डिफेण्डिङ च्याम्पियनसमेत रहेको महिला टोलीले यसपटक उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ ।