नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन सुरु

काठमाण्डौ – नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । चितवनको नारायणगढमा रहेको नारायणी नदी किनारमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुभएको हो ।महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि र विदेशका विभिन्न पार्टीका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो चुनावपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । चितवनमा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अब लगतै तीन तहको चुनाव आउने र ती चुनावमा एमालेले बहुमत ल्याउने दाबी गर्नुभयो ।

साथै उहाँले अहिले बाँकी रहेका विकासका काम अगाडि बढाएर समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्नेसमेत बताउनुभयो । ‘चुनाव आउँदैछन् । हामी अब चुनावको तयारीमा जानेछौँ । देशको सार्वभौमसत्ता र लोकतन्त्रको रक्षाका लागि एमालेले एकल बहुमत ल्याउनुपर्ने छ’, ओलीले भन्नुभयो ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नु सबै दलको जिम्मेवारी भएको बताउनुभएको छ ।

उहाँले एमालेलाई महत्वपूर्ण भूमिका खेल्न आग्रह गर्नुभयो । उहाँले राष्ट्रिय स्वाधीनताको सुनिश्चित गरी देशलाई समृद्ध बनाउन समान धारणा तय गर्न सबै दलबीच संवाद र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

उहाँले सबै नागरिकलाई खोप पुर्‍याउन सरकार प्रतिबद्ध रहेको र नागरिकको जीवन रक्षाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।

You can share this post!

एमालेको दशौँ महाधिवेशनमा करिव २ हजार म्याग्देलीको बिशाल जुलुस

कांग्रेस म्याग्दीका पूर्वसभापति बानियाँद्वारा केन्द्रीय सदस्य पदमा उम्मेदवारी

Related posts