म्याग्दी । नेकपा एमालेको भोली देखि चितवनमा सुरु हुने दशौँ राष्ट्रिय महाधिवेशनमा म्याग्दीबाट नेता नवराज शर्माले केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको छ ।
२०७० को संबिधान सभा निर्वाचनमा म्याग्दीबाट प्रत्यक्ष तर्फ बिजयी हुनुभएका संबिधान सभा सदस्य नवराज शर्माले केन्द्रिय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
भुगोल वा खुल्ला कुनै एक मध्यबाट उम्मेदवारी दिने गरि नेताहरु संग छलफल भैरहेको शर्माले बताउनुभयो । ‘नवौँ अधिवेशनमा पनि केन्द्रिय सदस्यमा उम्मेदवारी थियो र यसपाली पनि रहन्छ’ नेता शर्माले भन्नुभयो । २०४१ सालमा अनेरास्ववियुबाट आफनो राजनैतिक यात्रा सुरु गर्नुभएका शर्मा ४२ देखि ५४ सम्म अनेरास्ववियुको जिल्ला अध्यक्ष, धौलागिरी अञ्चल सदस्य र कोषाध्यक्ष हुनुभएको थियो ।
शर्माले जिल्ला कमिटि म्याग्दीका सदस्य, मुस्ताङ जिल्ला कमिटिका सचिव तथा धौलागिरी अञ्चल कमिटिका सदस्यका रुपमा पार्टीमा क्रियाशिल रहेर काम गरिसक्नुभएको छ । २०५४ मा जिविस सभापति हुनुभएका शर्मा २०७० मा संबिधान सभा सदस्यमा निर्बाचित हुनुभएको थियो ।
हाल नेकपा एमाले गण्डकी प्रदेश कमितिका सदस्य रहनुभएका नेता शर्मा कम्युनिष्ट बिचार र सिद्धान्त प्रति अडिक रहने सच्चा नेताको रुपमा चिनिनुहुन्छ । पार्टीमा लामो समय सम्म विभिन्न भुमिकामा रहेर पुर्ण रुपमा राजनितिमै समर्पित नेता शर्माले दशौँ महाधिवेशनमा आफ्नो जित पक्का हुने दावी गर्नुभएको छ ।
साथै सवै जिल्ला बाट चयन हुनुभएका महाधिवेशन प्रतिनिधिहरुलाई अमुल्य मत दिनका लागि पनि उहाँले अनुरोध गर्नुभएको छ ।