धौलागिरी क्षेत्रमा भीषण हिम पहिरो जाँदा मुस्ताङमा भागदौड

कात्तिक २८ गते । मुस्ताङको थासाङ गाउँपालिका २ कोवाङ ,लार्जुङ र बोक्सी खोला माथिको हिमाली लेकमा भीषण हिम पहिरो गएको छ । आइतबार बिहान करिब ११ बजेति हिम पहिरो गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार थासाङ गापा मार्थि धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार हिम पहिरो करिब ३० मिनेटसम्म जारी रहेको थियो ।

हिम पहिरोका कारण थासाङ गापाको वडा २ को कोवाङ,लार्जुङ,नाउरिकोट,बोक्सी खोलालगायतमा बसोबास गरेका स्थानीयको भागदौड चलेको थियो ।यस्तै, हिम पहिरो खसेका कारण बेनी जोमसोम सडक यातायात समेत ३० मिनेट सम्म प्रहरीले बन्द गर्नु परेको थियो । प्रहरी निरीक्षक अधिकारीका अनुसार मानापाथी हिमालबाट खसेको हिम पहिरोका कारण बोक्सी खोलाको पानीको बहाव समेत तेब्बर भएको थियो ।

धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट उर्लिएर खसेको हिमपहिरोका कारण कोवाङमा अवस्थित जनआर्दश अमरसिंह माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीको भागदौड चलेको विद्यालयका निमित्त प्रधानाध्यापक खेम गुरुङले जानकारी दिए ।

उनका अनुसार हिम पहिरोका कारण विद्यालयमा भागदौड हुँदा दुई शिक्षक र एक विद्यार्थीको खुट्टा भाँचिएको छ। ‘ धौलागिरि आधार शिविरबाट ठूलो भिषण हिमपहिरो आयो,विद्यालय शैक्षिक पठनपाठन चलिरहेको थियो,‘उनले भने,’ हिम पहिरो खसेको पत्तो पाएपछि विद्यालयका सबैमा भागदौड सुरु भयो ।’

विद्यालयका प्राधानाध्यापक गुरुङले अहिले विद्यार्थी र शिक्षकलगायतलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको जानकारी दिए । उनले अझै थप हिम पहिरो जानसक्ने भएकाले विद्यालयका सबैलाई सुरक्षित स्थानमा सारिएको बताए ।

स्थानीयका अनुसार हिम पहिरोका धक्काको असर कोवाङ,लार्जुङ,बोक्सी खोला र नाउरिकोट समेतमा परेको थियो । अहिले सो क्षेत्रमा तीब्र गतिमा हावा चलेको स्थानीय बताउँछन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङले अहिले हिम पहिरो रोकिएको र कोवाङ प्रहरी चौकीका इञ्चार्ज नेत्र जिटीसहितको ६ जनाको प्रहरी टोली घटनास्थल अवलोकन गर्न पुगेको प्रहरी निरीक्षक अधिकारीले जनाए ।

‘हिम पहिरोको अवस्था ,हिम पहिरोले कहाँ कहाँ के कति क्षति पुर्‍यायो सोबारे जानकारी लिन प्रहरी टोली खटाएका छौं, प्रहरी निरीक्षक अधिकारीले भने, ‘अहिले म्म भौतिक तथा मानवीय क्षतिको जानकारी आएको छैन ।’

उनले हिम पहिरो जाँदा भएको भागदौडमा केही शिक्षक र विद्यार्थी घाइते भएको जानकारी दिए । प्रहरीका अनुसार थासाङ९२ को हिम पहिरो जोखिम क्षेत्रका घरधुरीलाई सुरक्षित स्थानमा स्थान्तरण गर्ने तयारी भइरहेको जनाइएको छ ।

केही वर्षअघि सो क्षेत्रमा हिम पहिरो खस्दा थासाङ९२ क्षेत्रमा भौतिक तथा मानवीय क्षति भएको थियो । खर्कको चरनक्षेत्रमा रहेका याकरचौरीहरु समेत मरेका थिए। पछिल्लो समय जलवायु परिवर्तनका प्राकृतिक विपद्का घटनाहरु हुन थालेका छन् ।

हरितगृह ग्यास उत्सर्जन तथा प्राकृतिक दोहनका कारण र मौसममा आएको परिवर्तनले भारी वर्षा हुने,हिम ताल फुट्ने ,बाढी९पहिरो र नदी कटान हुने गरेको हो। जलवायु परिवर्तनकै कारण धौगागिरी क्षेत्रमा हिम पहिरो गएको हुनसक्ने स्थानीय सोजन हिराचनले बताए। annapurnapost

You can share this post!

एमाले महाधिवेशन प्रतिनिधि ४३ जिल्लामा निर्विरोध चयन

बेनीमा सडक दौड प्रतियोगीता आयोजना हुने

Related posts