नेकपा एमाले बेनी नगरपालिका कमिटीको अध्यक्ष पदमा दुईजनाको दाबी यथावत रहेको छ। नेतृत्व चयनका लागि मंगलबार देखि सुरु भएको प्रथम नगर अधिवेशनमा अध्यक्ष पदमा युवा नेता नारायण जि।सी, राजकुमार थापा र चन्द्रकुमार केसीले दावी प्रस्तुत गर्नुभएको थियो ।
बुधवार दिनभर नेताहरुले मिलाउने प्रयास गरेपनि साँझसम्म सहमति हुनसकेको छैन । दुवैजनाले अडान लिएपछि नेताहरुलाई सकस परेको छ । अध्यक्ष पदका आकांक्षी थापाले दावी फिर्ता लिएर जिसीलाई समर्थन गर्नुभएको छ । आगामी स्थानीय तहको निर्वाचन पनि नजिक भएकाले नेतृत्व लिन दुबैले कसरत गरेका छन् ।
सहमतिबाटै नेतृत्व चयन गर्न जिल्लाका नेताहरुले छलफल गरिरहनुभएको छ । तर दुवै जना पछि हट्न नमानेका कारण सहमति गर्न कठिन भएको छ । नेतृत्व चयन गर्न कुनैपनि हालतमा निर्वाचनमा नजाने मनस्थिति नेताहरु पुगेका छन् भने आकांक्षीहरु मतदानमा जान तयार देखिएका छन् ।
जिल्ला कमिटीको सचिवालयलाई सहमतिबाट नेतृत्व चयन गर्ने अधिकार दिइएको अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो । अहिले पार्टी कार्यालयमा सचिवालय बैठक बसिरहेको छ । बैठकमा सहमतिको प्रयास भइरहेको छ अध्यक्ष श्रेष्ठले भन्नुभयो, कुनैपनि हालतमा चुनाव हुँदैन, सचिवालयले गर्ने निर्णयमा सवै आकांक्षीहरु सहमत हुनुपर्छ । अध्यक्ष देखि पदाधिकारी तहका सवै पदहरुमा सचिवालय मार्फतनै चयन गरिने बताइएको छ ।
जिसी नगर कमिटी पूर्व अध्यक्ष र केसी जिल्ला कमिटिको लेखासमितिको संयोजक हुनुहुन्छ । युवाहरुलाई परिचालन गर्न र नेतृत्व गर्न सिपालु जिसी निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष समेत हुनुहुन्छ । पार्टीको कुनै पनि ओहदामा नहुँदा पनि आफुले निरन्तर पार्टीलाई सहयोग गरिरहेको र पार्टीको हरेक गतिविधिमा सक्रिय भएर लागेका कारण नै नेतृत्व लिन खोजेको जिसीको भनाई छ ।
नगरपालिकामा पार्टीलाई शसक्त बनाउनका लागि योजनाबद्ध तरिकाले लाग्ने गरि नेतृत्व लिन चाहेको जिसीले बताउनुभयो । अध्यक्षका अर्का आंकाक्षी केसीले भने नेतृत्वले जे निर्णय गर्छ त्यसलाई स्वीकारर्ने बताउनु भएको छ । पार्टीले जे जिम्मेवारी दिन्छ त्यो सहज स्वीकार्छु उहाँले भन्नुभयो ।