११ असोज, काठमाडौं । आकाशमा दुई घण्टासम्म फन्को मारेको बुद्ध एयरको जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा अवतरण गरेको छ ।
आज बिहान काठमाडौंबाट विराटनगर प्रस्थान गरेको उक्त जहाज प्राविधिक समस्याको कारण अवतरण गर्न नसकेपछि पुनः काठमाडौंमै फर्किएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले उक्त जहाज ‘नर्मल ल्याण्ड’ गरेर पार्किङस्थलमा गइसकेको बताए ।
जहाज सुरक्षित अवतरण भएकाले सम्भावित संकट टरेको छ । सो जहाजमा चालक दलका ४ सदस्यसहित ७७ जना थिए । सो जहाज सिनियर क्याप्टेन आङगेलु शेर्पाले उडाएका थिए ।
उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँतर्फको पाङ्ग्रा खुलेको थिएन । सबै उपाय अपनाउँदा पनि पाङ्ग्रा नखुलेपछि विराटनगरको तुलनामा काठमाडौंमा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाजलाई काठमाडौं फर्काइएको थियो ।
अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो । सो जहाजले धावनमार्ग छोएपछि जहाजको दायाँ(बायाँबाट दमकल र एम्बुलेन्स जहाज गएतर्फ गुडेका थिए ।
जहाजले आकाशमा धेरैबेर फन्को लगाइरहनुको कारणबारे विमानस्थलका एक अधिकारीले भने, ‘यस्तो अवस्थामा जहाजको इन्धन कम गराउनु पर्ने हुन्छ । त्यतिन्जेलसम्म विमानस्थलले आकस्मिक अवस्थामा चाहिने तयारी पूरा गर्छ । दमकल, एम्बुलेन्सदेखि अन्य सुरक्षाका सबै तयारी पूरा गरिन्छ ।’
अनलाइनखबर