रुम बेलीको एक परिवारद्वारा गाउँको विद्यालयलाई करिब ५ रोपनी जग्गा सहयोग

म्याग्दीको मालिका गाउँपालिका–२,रूम बेलीको एक परिवारले विद्यालयको भौतिक पूर्वाधार र खेलमैदान निर्माणका लागि करिब पाँच रोपनी जग्गा दान गरेका छन्। जग्गाविहिन अवस्थामा रहेको स्थानीय ज्ञान विकास आधारभुत विद्यालयलाई बयोबृद्ध समाजसेवी शिवलाल पुनको परिवारले खेतीयोग्य ४ रोपनी १० आना जग्गा विद्यालयलाई निःशुल्क हस्तान्तरण गरेका हुन् । शनिबार आयोजित जग्गा हस्तान्तरण तथा भवन, खेलमैदान शिलान्यास कार्यक्रमका प्रमुख अतिथि मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मामार्फत विद्यालयलाई जग्गादाताले लालपुर्जा हस्तान्तरण गरेका थिए।

छिमेकी गाउँ जेममा रहेको देउराली आधारभुत विद्यालयको शाखाको रुपमा मान्यता प्राप्त विद्यालयमा हालसम्म एक टुक्रा जमिन नभएकाले आफ्नै भवन र खेलमैदानका लागि आवश्यक जग्गा सहयोग गरिएको जग्गादाताले बताएका छन्। सोही अवसरमा बोल्दै प्रमुख अतिथि पौडेलले स्थानीयको पहलमा प्राप्त जग्गाले विद्यालयको संरचना बनाउन सहज हुने बताउनुभयो। ‘सामुदायिक विद्यालयमा समुदायको ठूलो लगानी छ,‘ शैक्षिक उन्नयनका लागि समुदायस्तरबाट भएको प्रयासमा हाम्रो साथ रहन्छ’ पौडेलले भन्नुभयो । उहाँले एकल परिवारबाट सडक नजिकै रहेको खेतीयोग्य जग्गा विद्यालयलाई प्राप्त हुनु ठूलो कुरा भएकाले विद्यालयको नाममा रजिष्टे«शन पास लगायतका प्रक्रियामा आवश्यक सहयोग गर्ने बताउनुभयो ।

 

गाउँपालिका शिक्षा अधिकृत अशोक रिजालले हालसम्म विद्यालयले प्रयोग गदैं आइरहेको भवन अर्कै विद्यालयको नाममा रहेको अवस्थामा प्राप्त जग्गाले सहज भएको बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष नरबहादुर पुनले विद्यालयको शैक्षिक,भौतिक पूर्वाधारका लागि जग्गादाता परिवारबाट यसअगाडी समेत लाखौं सहयोग प्राप्त भएको बताउनुभयो। कार्यक्रममा जग्गादाताको तर्फबाट विष्णुकुमारी पुनले गाउँबाट छोराछोरीलाई घरआगनमै गुणस्तरीय शिक्षा मिलोस्, बाहिर पढ्न जानु नपरोस् भनेर जग्गा उपलब्ध गराएको बताउनुभयो । ‘जग्गा परिवारका लागि कलेजोको टुक्रा जस्तै हुन्छ, भौतिक पूर्वाधारको अभावलाई समाधान गर्न सहयोग गरेका छौ’ पुनले भन्नुभयो ।

उहाँले पक्की भवन सहितको संरचना बनाउन स्थानीय सरकारमार्फत बजेटको आशामा समुदाय रहेको बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रमको अवसरमा रोजगारका लागि इजरायलमा रहेर हाल विदामा घर आएको अवसरमा विष्णु पुन मगरले विद्यालयलाई एक थान प्रोजेक्टर समेत हस्तान्तरण गर्नुभएको छ । जग्गादाता परिवारको तर्फबाट लालु पुन,भिमसरा पुन, टेकबहादुर पुन, भक्तबहादुर पुन, गंगा बहादुर पुन, संगम पुन, ताराप्रसाद पुन, जमान कुमारी पुन रोका र चन्द्रकुमारी पुनलाई समेत सम्मान गरेको थियो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेश पुनको अध्यक्षता, देउराली आधारभूत बिद्यालयका शिक्षक तुलप्रसाद पुनको स्वागत र शिक्षक सन्तोष पुनको सञ्चालनमा सम्पन्न भएको थियो । विद्यालयको नाममा जग्गाको ब्यवस्था भएपछि भौतिक संरचना निर्माणमा सहजता हुने र शैक्षिक गुणस्तरमा समेत सहज हुने विद्यालयले जनाएको छ ।

 

 

 

 

 

 

You can share this post!

नेपाल राष्ट्रिय शिक्षक संगठन बेनी नगर समितिको अध्यक्षमा राम प्रसाद पौडेल निर्वाचित

माउन्ट एभरेष्ट माविमा जुनियर डिभिजन एनसिसी क्याडेट तालिम सुरु

Related posts