प्रताप बानियाँ
म्याग्दी , ५ असोज । म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा सञ्चालित स्वास्थ्यसम्बन्धी कार्यक्रमहरुको वार्षिक समीक्षा गोष्ठी सकिएको छ । बेनी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा गत आर्थिक वर्ष २०७७÷७८ मा सञ्चालित स्वास्थ्यका कार्यक्रमहरुको समीक्षा सोमबार सम्पन्न भएको हो ।
दुई दिनसम्म चलेको वार्षिक समीक्षा गोष्ठीमा स्थानीय तह भित्रका स्वास्थ्य संस्थाहरुको तुलनात्मक विश्लेषण गर्ने, कार्यक्रम सञ्चालनमा देखिएका कमी, कमजोरी पहिचान गर्ने र सुधार गर्नुपर्ने पक्षहरु पत्ता लगाई लक्ष्य प्राप्तिसम्म पुग्ने मार्ग पहिचान गर्ने उद्देश्य राखिएको थियो । समीक्षा कार्यक्रमको समापनसत्रमा बोल्ने वक्ताहरुले स्वास्थ्य संस्थाहरुमार्फत सञ्चालित कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
समीक्षा गोष्ठीको समापन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले गोष्ठी समीक्षामा मात्रै सीमित नभई यसमा उठेका विषयहरुको समाधान गर्नेगरी अगाडि बढ्न स्वास्थ्यकर्मीहरुलाई सुझाव दिनुभयो । उहाँले स्वास्थ्य संस्थाहरुमा आवश्यक आधारभूत उपकरण तथा सेवाका लागि नगरपालिकामा माग गर्न आग्रह गर्दै नगरपालिकाबाट सम्बोधन हुन नसक्ने मागलाई सम्बन्धित ठाउँमा पहल गरेर पठाइने बताउनुभयो ।
बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जनगणना पश्चात् स्वास्थ्य नीति बनाउँदा तथ्यपरक हुनुका साथै तथ्याङ्क सङ्कलनमा सहज हुने बताउनुभयो । उहाँले प्रदेश स्वास्थ्य निर्देशनालयले स्वास्थ्यका क्षेत्रमा प्रत्यक्ष सरोकार राख्ने खालका कार्यक्रमका लागि नगरपालिकासँग आवश्यक समन्वय गर्नुपर्ने बताउँदै समीक्षा गोष्ठीले नगरको स्वास्थ्य क्षेत्रमा परिवर्तन हुनुपर्ने बताउनुभयो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज शर्माले नगर क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुमार्फत सुरक्षित मातृत्वसम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो । निर्देशनालयका जनस्वास्थ्य निर्देशक नारायण त्रिपाठीले बेनी नगरपालिकाले आफ्नै स्वास्थ्य नीति बनाएर लागू गर्नुपर्ने बताउनुभएको छ ।
समीक्षा गोष्ठीमा बेनी नगरपालिकाको स्वास्थ्य संयोजक लिला गौतम, रत्नेचौर स्वास्थ्यचौकीका इन्चार्ज होमनाथ गौतम, ज्यामरुककोट स्वास्थ्यचौकी इन्चार्ज चन्द्रबहादुर मल्ल, भकिम्ली स्वास्थ्यचौकी इन्चार्ज धिरजकुमार शाह, सिङ्गा स्वास्थ्यचौकी इन्चार्ज हरिलाल अधिकारी, पुलाचौर स्वास्थ्यचौकी इन्चार्ज विष्णुमाया कुँवर, घतान स्वास्थ्यचौकी इन्चार्ज जमुना शर्मा र पात्लेखेत स्वास्थ्यचौकी इन्चार्ज रामप्रसाद शर्माले आ–आफ्नो स्वास्थ्य संस्थामार्फत गएको वर्षमा भएको प्रगतिबारे तथ्याङ्कसहित प्रस्तुतीकरण गर्नुभएको थियो ।
समीक्षामा वन हार्ट वल्डवाइडका जिल्ला संयोजक उपेन्द्र चन्द र सुआहारा कार्यक्रमका पोषण तथा स्वास्थ्य अधिकृत रामचन्द्र पन्थीले आफ्नो संस्थामार्फत जिल्लामा सञ्चालित कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । नगर प्रमुख श्रेष्ठको अध्यक्षता र स्वास्थ्य संयोजक गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्साल, बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईली, सामाजिक विकास समिति संयोजक गोविन्दप्रसाद पौडेल, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष दिपक पौडेल र पत्रकारको उपस्थिति थियो ।