अवैध रूपमा बसेका छन् ४ लाख नेपाली महिला कामदार खाडी र मलेसियामा

सरकारले चार वर्षअघि घरेलु महिला कामदारलाई खाडीका देश र मलेसिया जान प्रतिबन्ध लगाएको थियो । २०७३ चैतमा संसद्को अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिले नेपाली महिलालाई घरेलु कामदारका रूपमा ती देश जान रोक लगाउन सरकारलाई निर्देशन दिएको थियो । श्रम समितिको निर्णयपछि २०७३ चैत २९ यता कोही पनि महिला घरेलु कामदारका रूपमा ती देश जान पाएका छैनन् ।
खाडीका देश र मलेसियामा करिब २५ लाख नेपाली कार्यरत रहेको वैदेशिक रोजगार विभागको अनुमानित तथ्यांक छ । जसमध्ये ५ देखि ६ लाख महिला रहेको सरकारी अनुमान छ ।
ती देशमा ५ वर्षअघि घरेलु कामका लागि गएका करिब ४ लाख महिला अवैध रुपमा बसेर काम गरिरहेको वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आएका विभिन्न संघसंस्थाले अध्ययनमा गरेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बुझाएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिबन्ध लगाउनुअघि खाडीका देश र मलेसिया पुगेका महिला कामदार अवैध रुपमै बसेर रोजगारी गरिरहेको श्रम मन्त्रालयकै एक अध्ययनले देखाएको छ ।
प्रतिबन्ध लगाउनुअघि खाडीका देश र मलेसिया गएका महिला कामदारको श्रम अवधि सकिएको छ । पुनस् रोजगारीमा जान नपाउने डरले उनीहरूले जोखिम मोलेर काम गरिररहेको अध्ययनमा भनिएको छ ।
सरकारले श्रम स्वीकृति जारी गर्ने समयकै आधारमा पनि ५ वर्षअघि मलेसिया र खाडीका देश पुगेका महिला कामदार प्रायः अवैध रुपमै बसरे काम गरिरहेको पाइन्छ । सरकारले खाडीका देश जाने कामदारका हकमा २ वर्ष र मलेसिया जाने कामदारका हकमा ३ वर्षको श्रम स्वीकृति जारी गर्ने वैदेशिक रोजगार विभाग श्रम कार्यलयले जनाएको छ ।
खाडीका देश र मलेसियामा कार्यरत महिला कामदारको सुरक्षा र अधिकारका बारेमा पटक–पटक रोजगारदाता देशसँग छलफल गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव तथा प्रवक्ता भरतमाणि पाण्डे बताउँछन् ।
अवैध रूपमा काम गरिरहेका घरेलु महिला कामदारलाई स्वदेश फर्किन राहदानीसँगै आवश्यक कागतजात बनाउने सुविधा दिएको पाण्डेले बताए ।
‘श्रम अवधि सकिएका महिला घरेलु कामदारलाई सरकारले स्रोत देशको सम्बन्धित निकायसँग पहल गरेर स्वदेश फकाउन पहल गर्छ । यो विषयमा कूटनीतिक नियोगमार्फत छलफल पनि भइरहेको छ,’ पाण्डेले भने, ‘सरकारले देशभित्र रोजगार गर्ने होस अथवा विदेशमा गएर काम गर्ने नेपाली नागरिकको सुरक्षा गर्नुपर्छ । समस्या छ भन्दाभन्दै समाधानका लागि पहल नगरी महिला कामदार पठाउन सक्ने अवस्था छैन ।’
घरेलु रोजगारीमा गएर समस्यामा परेका महिला कामदारको उद्धार गरिरहेको पाण्डेको भनाइ छ ।
घरेलु महिला कामदारलाई ओहोरदोहोरमा रोक नलगाउन सम्बन्धित देशका कुटनीतिक नियोगले नेपाललाई पटक–पटक आग्रह गरे पनि नेपालका तर्फबाट अहिलेसम्म आधिकारिक निर्णय गरिएको छैन ।
सरकारले री–इन्ट्री बन्द गर्दा घर बिदामा आएका महिला वैदेशिक रोजगारीमा जान पाएका छैनन् । यही समस्यामा पर्ने भन्दै खाडी तथा मलेसियामा रहेका महिलाहरू घर बिदामा समेत नआउने गरेको पौरखी नेपालकी अध्यक्ष मन्जु गुरुङ बताउँछिन् ।
घर बिदामा आएपछि जान नपाउने डरले कतिपय महिला रोजगारदाता देशमै बसिरहेको गुरुङले बताइन । ‘अवैध रुपमा बसेको महिला कामदारले रोजगारदाताकै देशमा शरण लिएर बस्न बाध्य छन्,’ उनले भनिन् ।
प्रतिबन्ध लगाइए पनि अवैध बाटो भएर जाने र व्यक्तिगत भिसामा रेलु काममा जाने क्रम भने नरोकिएको उनको भनाइ छ ।
हाल खाडी मुलुक र मध्यपूर्वका विभिन्न देशमा नेपाली महिलाको अत्याधिक माग छ । सोही मागअनुसार हरेक महिना कम्तिमा २ हजार महिला घरेलु कामका लागि गइरहेका थिए । पछिल्लो समय यो क्रम बन्द छ । घरेलु महिला कामदारका लागि मासिक ५ हजारभन्दा धेरै माग आउने गरेको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् ।
साउदी, कुवेत, कतार, बहराइन र ओमानले सरकारीस्तरमै श्रम सम्झौता गरेर घरेलु महिला कामदार लैजान श्रम मन्त्रालयलाई प्रस्ताव गर्दै आएका छन् ।
सरकारले महिला कामदार पठाउँदा रोजगारदाता कम्पनीले सुरक्षा, कामदार प्रत्यक्षीकरण, घरपरिवारसँग सम्पर्क, कामको समय, पारिश्रमिकको ग्यारेण्टी, साप्ताहिक बिदा र छोराछोरीको शिक्षालाई सर्तका रूपमा अघि सारेको छ ।
शिलापत्रमा रमेश भारती ले यो समाचार लेख्नु भएको छ ।

You can share this post!

रघुगंगामा अनेमसंघको तदर्थ समिती गठन

एकजित रोकाको संयोजकत्वमा राष्ट्रिय युवासंघ म्याग्दीको तर्दथ समिती गठन

Related posts