म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका ३ पिप्ले रानीपौवा देखि गुरगुरे हुँदै घोरेढुंगा पुग्ने पदमार्ग निर्माण भएको छ ।
गाउँपालिकाको ३ लाख बजेट र स्थानीयको रु ३२ हजार बराबरको श्रमदानबाट करिव ५०० मिटर पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष सुजन खत्रीले बताउनुभयो ।
रानीपौवादेखि कालीगण्डकीको किनार घोरेढुङगा सम्मको अप्ठ्यारो बाटोमा सिँढी चिनिएको छ भने कतै सम्याएर सजिलो बनाइएको छ । रानीपौवा देखि गुरगुरेको बाटो त्यहाँका स्थानीयहरु खेती लगाउन जाने मुख्य पैदल मार्ग हो ।
त्यस्तै रानीपौवाबाट सागर जाने बाटो पनि त्यही भएको र धेरै ठाउँमा बाटो भत्किएर असजिलो बनेकाले नयाँ पदमार्ग निर्माण गरिएको रघुगंगा गाउँपालिका वडा नं का अध्यक्ष जिवन मल्लले बताउनुभयो ।
पदमार्ग निर्माण भएपछि आवतजावतमा निकै सहज भएको स्थानीय युवा अमृत शाहीले बताउनुभयो । गाउँमा सडक मात्रै बिस्तार गरेर हुँदैन, पैदल मार्ग निर्माणलाई पनि चासो दिनुपर्छ, वडा अध्यक्ष मल्लले भन्नुभयो, “वडा नं ३ मा यस्ता धेरै पदमार्गहरु निर्माण गरिएको छ” ।
यसैगरि रानीपौवा देखि चिसापानी जाने पदमार्ग पनि निर्माण सम्पन्न भएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अनुसार गाउँपालिकाको रु ५ लाख बजेटबाट सो पदमार्ग निर्माण गरिएको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।