जेठ ३० मा स्ववियु निर्वाचन

स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनबारे त्रिभुवन विश्वविद्यालय त्रिविले चासो देखाएको छ । नेपाल विद्यार्थी संघ नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिसँग त्रिविले आगामी जेठ ३० गते स्ववियु निर्वाचन गर्न सहमति जनाएको छ । नेविसंघ त्रिवि समितिले पाँच बुँदे माग राखेर ४८ दिनसम्म गरेको रिले अनसनपछि स्ववियु निर्वाचन गर्नेगरी त्रिवि र नेविसंघबीच ९ चैतमा सहमति भएको थियो । उक्त सहमतिको विद्यार्थी संगठनले स्वागत गरेका छन् ।
सत्तारुढ नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष ऐन महरले स्ववियु चुनाव गराउने कुरा सकारात्मक र स्वागतयोग्य भएको बताए । उनले भने,‘हामीसँग तीन महिना पर्याप्त समय छ । गर्न सकिन्छ,गर्नुपर्छ । हाम्रो सकारात्मक भूमिका हुन्छ । हामी पनि सहभागी हुन्छौं । अरुलाई पनि सहभागी गराउने वातावरण निर्माण गर्ने कुरामा लाग्छौं ।’
काँग्रेस निकट नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आफूहरु सधै स्ववियु चुनावको पक्षमा रहेको बताए । उनले भने,‘त्रिविले चाहेको अवस्थामा स्ववियु चुनाव हुन गाह्रो छैन । नेविसंघ सधैँ स्ववियु चुनावकै पक्षमा छ ।’
त्यसैगरी माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ पनि स्ववियु चुनाव गराउने कुरा सकारात्मक भएको बताउँछन् ।
उनले भने,‘स्ववियु निर्वाचन अनिवार्य छ । त्रिविले स्ववियु निर्वाचन चाँडो गराओस् । त्रिविले गराउने स्ववियु चुनाव फेस गर्न अनेरास्ववियु क्रान्तिकारी तयार छ । त्रिविले अनशनरत विद्यार्थीसँग सहमति गरेर स्ववियु निर्वाचन गर्छौं भनेको छ,त्यो राम्रो निर्णय हो । त्रिविले प्रतिबद्धता जनाएजस्तै विश्वविद्यालयको क्यालेन्डरलाई व्यवस्थापन गरेर स्ववियु निर्वाचनको वातावरण बनाओस् ।’
तामाङका अनुसार प्रत्येक दुई वर्षमा हुनुपर्ने स्ववियु चुनाव लामो समयसम्म नहुँदा विद्यार्थी आन्दोलन कमजोर भएको छ । कोभिड–१९ जस्तो माहामारीका बेलामा विद्यार्थीलाई सहयोग पुर्याउने निर्वाचित संस्था नहुँदा विद्यार्थीलाई थप समस्या परेको उनले बताए ।
उनले भने,‘विद्यार्थी नेतृत्व उत्पादन,लोकतन्त्रको अभ्यास,शैक्षिक,राजनीतिक,राष्ट्रियता र जनजीविकाबारे खबरदारी गर्ने निर्वाचित संस्था नहुँदा समग्र विद्यार्थी आन्दोलन कमजोर बनाएको छ ।’
पूर्व र तराईका केही क्याम्पसमा ६२ सालयता निर्वाचन हुन सकेको छैन । ६५ सालमा पनि सबै क्याम्पस र विश्वविद्यालयमा स्ववियु निर्वाचन हुन सकेन । ०७० सालको स्ववियु चुनाव पनि केही क्याम्पसमा मात्र सीमित रह्यो । त्यसपछि ०७३ सालमा त्रिविका आंगिक क्याम्पसमध्ये ३० प्रतिशतमा मात्र स्ववियु चुनाव सम्पन्न भयो । छिटफुट क्याम्पसमा चुनाव भए पनि करिब १२ वर्षदेखि धेरै क्याम्पसमा चुनाव हुन सकेको छैन ।
अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य तथा अनेरास्ववियु त्रिवि कमिटीका पूर्वअध्यक्ष मदन बिष्टले आफू स्ववियु चुनावको पक्षमा भएको बताए ।
त्रिविको इमानदार संयोजन र विद्यार्थी संगठनको सहयोग रहे चुनाव हुन समस्या नहुने विष्टको भनाइ छ । उनले भने,‘त्रिविले चुनाव गराउन चाहेमा चुनाव नहुने कुरा छैन । कार्यतालिका घोषणा गर्ने र विद्यार्थी संगठनलाई चुनावमा जानुपर्छ भन्यो भने चुनाव हुन्छ । क्याम्पसमा भर्नालगायतका सबै गतिविधि भइरहेकै छन् । नियमित काम भइरहेकाले समस्या केही छैन । १५ दिनभित्र कार्यतालिका निकालेर चुनाव गराउन सक्छ ।’
नेविसंघ त्रिविका अध्यक्ष हरि आचार्य विद्यार्थी संगठन र त्रिविका पदाधिकारीले स्ववियु चुनावका लागि तदारुकता देखाउँदा चुनाव सम्भव भएको बताउँछन् ।

राताेपार्टीबाट

You can share this post!

भरतपुरबाट बेपत्ता बनेका पर्वतका एक यूवा, पर्वत, म्याग्दी आसपास रहेको भन्दै खोजी गरिदिन अपिल

 एक सय १२ जना नागरिकले गरे आँखाको शल्यक्रिया

Related posts